वैदेशिक रोजगारी : आफ्नो क्षमताभन्दा ठुलो काम नरोजौँ

 भदौ ३१, २०७९ शुक्रबार १४:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

वैदेशिक रोजगारीको क्रममा श्रमिक आफैँ चनाखो नभए ठगिने सम्भावना पलपलमा हुन्छ । तर अरूको कुरामा भन्दा पनि आफू जाने देश, गर्ने काम, पठाउने म्यानपावर वा एजेण्ट, कम्पनी र त्यहाँ पाउने सेवा सुविधाको बारेमा राम्रोसँग बुझेर मात्र कदम अघि बढाएमा ठगीमा पर्ने जोखिम कम हुन्छ । वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने कारण र बच्ने उपायबारे हामीले प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका कार्यकारी निर्देशक सोम लामिछानेसँग कुराकानी गरेका छौँ ।

लामिछानेका सुझाव उहाँकै शब्दमा

वैदेशिक रोजगारीमा जाने पछिल्लो प्रवृत्ति हेर्दा धेरैजसोले स्थानीय एजेण्टहरुको कुरामा विश्वास गर्ने र उनीहरूमार्फत नै वैदेशिक रोजगारीको प्रक्रिया अपनाउँदा ठगीमा परेको देखिन्छ । एजेण्टले भनेको चिल्ला मिठा कुरामा विश्वास गर्ने, उनीहरूको उक्साहटमा लाग्ने, आफ्नो क्षमताभन्दा फरक काममा जानका लागि पनि उत्साहित हुने कारणले पनि ठगीमा परेको देखिन्छ । 

एजेण्टहरुले नै अर्को उपाय भनेको पहिला थोरै पैसा माग्ने र पछि बिस्तारै थप पैसा माग्दै जाने गरेको पनि देखिन्छ । सुरुमा यति भए भइहाल्छ भन्छन् । अनि फेरि बिस्तारै त्यसलाई बढाउँदै लैजाने अवस्था पनि छ । यो पनि ठगीमा पर्ने एक कारण हो । 

विदेशबाट आएका कामको माग सधैँ सही नहुन पनि सक्छन् । विदेशबाट आउने कामको माग सही नहुँदा पनि ठगीमा पर्ने सम्भावना हुन्छ । श्रमिकलाई त्यो कामको माग सही हो कि होइन भन्नेबारे थाहा हुँदैन । तर विश्वास चाहिँ त्यसमा नै गरिरहेका हुन्छन् । जसको कारण ठगी हुन्छ । 

यस्तै विभिन्न बहानामा भारत लगायतका तेस्रो मुलुक हुँदै वैदेशिक रोजगारीमा जाँदा पनि ठगीमा पर्न सकिन्छ । लग्ने मानिसले जहाँबाट गए पनि उही त हो नि प्रक्रिया भनेर फसाउन सक्छन् । तर त्यसो गर्दा आफू ठगीमा पर्ने जोखिम हुन्छ । नेपाल सरकारको नियम अनुसार वैदेशिक रोजगारीमा जानेले नेपालकै विमानस्थल प्रयोग गरेर जान पर्छ । 

पछिल्लो समय रोजगारीका लागि भिजिट भिसामा जाने क्रम बढ्दो छ । तर यदि वैदेशिक रोजगारीमा जाने हो भने भिजिट भिसामा जानु हुँदैन । भिजिट भिसामा लगेर काम लगाइदिने आश्वासन दिएर तपाईँलाई ठग्न सक्छन् । 

धेरै दाजुभाइ दिदीबहिनीहरूले आफ्नो करार सम्झौता पत्र नपढी र नहेरी हस्ताक्षर गर्ने गरेको पाइन्छ । कागजमा लेखेको त हो नि भोलि उता गएपछि अर्कै हुन्छ, म्यानपावरले भनेअनुसार कै हुन्छ भनेर विश्वास गर्ने गरेको पाइन्छ । कहिलेकाहीँ यही कुरा ठुलो भुल हुन जान्छ । 

कतिपय चाहिँ स्वास्थ्य परीक्षणमा फेल हुँदा हुँदै पनि गइरहनुभएको हुन्छ । जुन कामका लागि आफू फिट भइँदैन त्यो काममा सकेसम्म जान हुँदैन । यसरी जाँदा पनि ठगीमा पर्न सकिन्छ ।  

अनि अर्को भनेको चाहिँ साथीभाइले सँगै अप्लाइ गरेका साथीभाइ त विदेश पुगेर कमाउन थालिसके मेरो भएन भनेर जस्तो पनि काममा बिचार नै नगरी जाने गरेको पनि पाइन्छ भने कतिपय चाहिँ नेपालमा बसिरहनु भन्दा विदेश गइहाल्न पाए आज गए भोलिदेखि कमाउन थालिन्छ भन्ने सोचले पनि ठगीमा पर्ने गरेको देखिन्छ । 

ठगीमा पर्नबाट बच्ने उपायहरू

यस्ता खालका सम्भावित ठगीबाट बच्नका लागि जो जाने तयारीमा हुनुहुन्छ उहाँहरू धेरै भन्दा धेरै सचेत हुन प¥यो । चिल्ला मिठा कुरामा विश्वास गर्नेभन्दा पनि वास्तविकता के हो त त्यसतर्फ ध्यान दिन प¥यो । आफूले जानेको बुझेको काममा मात्र जानुपर्छ ।

एजेण्टले भनेको भरमा यस्तो भइहाल्छ भनेर आश्वासन दिएकै भरमा विदेश जान भएन । वैदेशिक रोजगारीको प्रक्रियामा रहँदा चाहिँ सकेसम्म प्रमाणहरू सङ्कलन गर्ने गर्नुपर्छ । डिमाण्ड सही छ कि छैन हेर्ने, आफ्नो करार सम्झौता पत्र सही हो कि हैन भनेर यकिन गर्ने, पढ्ने र पैसा दिने बेलामा पनि वैदेशिक रोजगारीका लागि रकम दिएको हो भन्ने खालको प्रमाण राख्ने गर्नुपर्छ । 

केही शङ्का लाग्यो या अप्ठेरो पर्‍यो भने वैदेशिक रोजगार विभागमा सम्पर्क गरेर बुझ्ने र अहिले त आफू जाने काम र कम्पनीको बारेमा अनलाइनमार्फत पनि बुझ्न सकिन्छ ।  नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि तोकिएका सबै प्रक्रिया अपनाउने ।

आफू जान लागेको कम्पनीका बारेमा त्यहाँ काम गर्ने नेपाली साथीभाइबाट पनि बुझ्न सकिन्छ । कुनै उपाय नै भएन भने प्रवासी नेपाली समन्वय समितिजस्तो संस्थामा सम्पर्क गरेर पनि बुझ्न सकिन्छ । यति गरेर वैदेशिक रोजगारीको कदम चाल्दा ठगीमा पर्ने सम्भावना केही हदसम्म कम हुन्छ । 

(कार्यकारी निर्देशक लामिछानेसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

तपाईको प्रतिक्रिया