सामाजिक सुरक्षा कोषमा योगदान गर्नेका श्रीमान् वा श्रीमतीले पनि औषधि उपचार सुविधा पाउने, सन्ततिलाई शैक्षिक छात्रवृत्तिको व्यवस्था

 असोज ७, २०७९ शुक्रबार १०:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकका श्रीमान् वा श्रीमतीले पनि अब कोषबाट औषधि उपचार सुविधा पाउने भएका छन् । 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को तेस्रो संशोधनले यसअघि योगदानकर्ता श्रमिकले मात्र पाउने औषधि उपचार सेवा निजको श्रीमान् वा श्रीमतीले पनि पाउने व्यवस्था गरेको हो । कार्यविधिको तेस्रो संशोधन यही भदौ ५ गते स्वीकृति भइसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

कोषका अनुसार कार्यविधि संशोधन भएको मितिले ९१ औँ दिन अर्थात् तीन महिनापछि सुरु हुने व्यवस्था छ । अर्थात् अब आउँदो मङ्सिर महिनादेखि योगदानकर्ताको श्रीमान् वा श्रीमतीले पनि कोषमार्फत औषधि उपचार सेवा पाउनेछन् । 

यस्तै, कोषका अनुसार कार्यविधिको तेस्रो संशोधनले घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तर्गत पनि कोषमा कम्तीमा दुई वर्ष रकम जम्मा गरेका श्रमिकले कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्क घात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगको लागि सेवा अवधिभर १० लाख रुपैयाँसम्मको खर्च कोषले व्यहोर्ने गरी व्यवस्था भएको छ ।

घातक रोगको औषधि उपचार सुविधा कोषमा योगदान गर्न छाडेको दुई वर्षसम्म लागू हुने छ ।

यसका साथै कोषको वृद्धावस्था सुरक्षा योजना अन्तर्गत निवृत्तिभरण सुरु भएको सात वर्षसम्म पनि घातक रोग सम्बन्धी सुविधा उपयोग गर्न सकिने व्यवस्था समेत यो संशोधनले गरेको छ । 

कोषमा योगदान गर्ने श्रमिकका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था समेत गरिएको कोषका प्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ ले कोषमा योगदान गर्ने श्रमिकका बालबच्चाले चिकित्सा विज्ञान, इन्जिनियरिङ, नर्सिङ, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान हुने व्यवस्था गरेको छ ।

कोषले बढीमा पाँच लाख रुपैयाँसम्म छात्रवृत्ति प्रदान गर्ने छ । यो कार्यक्रम आउँदो शैक्षिक सत्रदेखि लागू हुने कोषले जनाएको छ । 

तपाईको प्रतिक्रिया