भदौको तुलनामा असोज महिनामा वैदेशिक रोजगारीमा जाने घटे, मलेसिया जाने सबैभन्दा धेरै

 कात्तिक २२, २०७९ मंगलबार १७:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको भदौको तुलनामा असोज महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ ।

नयाँ, संस्थागत र पुन गरी गएको भदौ महिनामा मात्रै ७६ हजार ४ सय ३ जनाले श्रम स्वीकृति लिएकोमा असोजमा महिनामा ६२ हजार ७ सय ६ जनाले मात्र लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो सङ्ख्या अघिल्लो महिनाको तुलनामा १३ हजार ६ सय ९७ जनाले कमी हो । 

असोज महिनामा  सबैभन्दा धेरै ३९ हजार ७९० जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने १८ हजार ५ सय ७७ जना अदक्ष श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । श्रम स्वीकृति लिनेमा ४२ सय १६ जना अर्धदक्ष, १ सय ९ जना व्यवसायीक र १४ जना उच्च सीपयुक्त श्रमिक रहेका छन् । 

पछिल्लो समय श्रम स्वीकृति लिनेमा दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको छ । भदौ महिनामा पनि ७६ हजारले श्रम स्वीकृति लिँदा ४६ हजार ६९ दक्ष श्रमिक थिए ।

मलेसिया जाने धेरै

असोज महिनामा सबैभन्दा धेरै मलेसिया जाने श्रमिक रहेका छन् । असोज महिनामा मलेसिया जानका लागि नयाँ, व्यक्तिगत, संस्थागत र पुन गरी २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसिया पछि खाडीको देश कतार जान ९ हजार ८४५ जनाले, यूएईका लागि ७ हजार ८४५ जनाले, साउदीका लागि ६ हजार ५३६ जनाले र कुवेतका लागि ३४ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

६६७ म्यानपावरले पठाए श्रमिक

असोज महिनामा ६ सय ६७ जना म्यानपावर कम्पनीले रोजगारीका लागि श्रमिक विदेश पठाएका छन् । जसमध्ये २६ ओटा म्यानपावर कम्पनीले एक महिनामा एक एक जना मात्र श्रमिक पठाएका छन् भने ३२ ओटा म्यानपावरले दुई दुई जना, २३ ओटा म्यानपावर कम्पनीले तीन तीन जना, २३ ओटा म्यानपावरले चार चार जना, १६ ओटा म्यानपावरले पाँच पाँच जना, २२ ओटा म्यानपावरले छ छ जना, १५ ओटा म्यानपावरले सात सात जना, १० ओटा म्यानपावरले आठ आठ जना, १३ ओटा म्यानपावरले नौ नौ जना, ६ ओटा म्यानपावरले दश दश जना र १५ ओटा म्यानपावरले एक महिनामा एघार एघार जना मात्र श्रमिक पठाउन सफल भएका छन् । 

१ सय १७ ओटा म्यानपावर कम्पनीले एक सयभन्दा बढी श्रमिक पठाएका छन् । सबैभन्दा धेरै वाइड स्पेस इन्टरनेशनल प्रालीले ७ सय ८८ जना पठाएको छ भने एक्सेस पार्टनर्स प्रालीले ६ सय १२ जना पठाएको छ । 

तपाईको प्रतिक्रिया