साउदी : प्रि–इनरोलमेन्ट गरेर मात्र राहदानी नवीकरणको लागि आउन दूतावासको आग्रह

 कात्तिक २७, २०७९ आइतबार १२:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं साउदीमा राहदानी नवीकरण गर्न दूतावास जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनलाइन फारम भरेर प्रि–इनरोलमेन्ट गरेर मात्रै जानुहोला । साउदीमा रहेको नेपाली दूतावासले सेवाग्राहीको सहजता र दूतावासलाई पनि काम गर्नमा छिटोछरितो होस् भन्दै यस्तो आग्रह गरेको हो ।

अनलाइन फारम प्रि इनरोलमेन्टको लागि https://emrtds.nepalpassport.gov.np/ लिंकमा जानुपर्छ । ‘अपोइन्टमेन्ट बुक’ गर्नको लागि ‘अपोइन्टमेन्ट कन्ट्री’को ठाउँमा अदर भन्ने अप्सन छान्नुपर्छ र ‘लोकेशन’मा भित्रको अप्सनमध्येबाट एनई रियाद छान्नुपर्ने हुन्छ । त्यसपछि जे जे जानकारी मागेको छ त्यही भर्दै जानुपर्छ । सबै विवरण भरिसकेपछि अन्तिममा फाइल डाउनलोड गरेर प्रिन्ट गर्नुपर्छ । यदि अनलाइन फारम आफैले भर्न सक्नुहुन्न भने आफ्नो कम्पनी वा साथीभाइको सहयोग लिन सकिन्छ । 

यदि साउदी अरबमा कसैले पनि सहयोग गरेन र आफैले पनि सक्नुभएन भने नेपालमा रहेको परिवार वा साथीभाइको सहयोग लिन पनि दूतावासले सुझाएको छ । त्यसको लागि पनि माथि उल्लेख गरेजस्तै गरी अनलाइन फारम भरेर त्यसको पीडीएफ फाइल ह्वाट्सअप अथवा अन्य माध्यमबाट मगाउन सकिन्छ । त्यसलाई प्रिन्ट गरेर दूतावासमा पेस गर्न सकिन्छ ।

राहदानी नवीकरणको लागि रीतपूर्वक भरिएको अनलाइन फारमको प्रिन्ट प्रति, नागरिकताको अगाडि र पछाडि भागको प्रष्ट फोटोकपी, राहदानीको फोटो पेज र ३१ नम्बर पेजको फोटोकपी र सक्कल राहदानी अनिवार्य साथलमा ल्याउनुपर्छ । आफूसँग जनशक्ति र श्रोतसाधन पर्याप्त नभएकाले सेवाग्राहीले नै अनलाइन फारम भरेर आइदिए काम छिटो छरितो हुने दूतावासको भनाइ छ ।

यस्तै दूतावासले अनलाइन फारम भरेर आउनेहरुले पनि सामान्य गल्ती गर्ने गरेको भन्दै त्यस्ता गल्ती सुधार गर्न आग्रह गरेको छ । राहदानी र नागरिकताको राम्रोसँग स्क्यान गरेर मात्रै अपलोड गर्नुपर्छ । आफ्नो नाम र थर, आफ्नो पालिकाको नाम र वडा नम्बर सहि लेख्नुपर्छ । अरू विवरणमा पनि कुनै गल्ती नगर्न दूतावासले आग्रह गरेको छ । अनलाइन फाराम नभरिकन वा प्रि–इनरोलमेन्ट नगरिकन आउने सेवाग्राहीको राहदानी नवीकरण आवेदन लिन दूतावास बाध्य नहुने पनि दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया