वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यविधि तयार

 मंसिर २२, २०७९ बिहिबार १२:३३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने कार्य विधि तयार भएको छ ।

कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिले स्वीकृति गरिसकेको र श्रम मन्त्रालयबाट स्वीकृतिको चरणमा रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ । श्रम मन्त्रालयले स्वीकृति गरेको तीन महिनामा यो कार्यविधि कार्यान्वयनमा आउने कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो । 

योसँगै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आबद्ध गर्ने कार्यविधि पनि कोष सञ्चालक समितिले स्वीकृति गरिसकेको उहाँले बताउनुभयो । 

‘यी दुई कार्यविधि नेपालका नागरिकलाई कुनै न कुनै रूपमा सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित आएका हुन्’ सह प्रवक्ता रेग्मीले भन्नुभयो ‘यसले कोषको कार्य क्षेत्र पनि विस्तार गरेको छ, अब मन्त्रालयबाट स्वीकृतिको ९० दिनभित्र कार्यान्वयनमा जान्छ ।’

कार्यविधिले वैदेशिक रोजगारीमा रहेकाहरूले महिनाको करिब २ हजार रुपैयाँ बराबर रकम योगदान गरेर सामाजिक सुरक्षा कोषमा सहभागी भई विशेष गरी औषधी उपचार, दुर्घटना, आश्रित परिवार योजना लगायतका सेवा लिन सक्छन् । वृद्ध अवस्था योजनामा पनि स्वैच्छिक रूपमा अतिरिक्त रकम जम्मा गरेर पनि सहभागी हुन सकिने व्यवस्था कार्यविधिले गरेको छ । 

कार्य विधिले वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति लिएर विदेशमा गई स्वरोजगार भएका र नयाँ जानेहरूका लागि विशेष गरी दुई मोडलको परिकल्पना गरेको छ । 

सह प्रवक्ता रेग्मीका अनुसार एउटा भनेको गन्तव्य देशमै रहका सामाजिक सुरक्षा प्रदायक संस्थाहरूसँग कोषले दुई पक्षीय सम्झौता गरेर त्यहाँबाट प्रदान हुने सामाजिक सुरक्षाका कार्यक्रम त्यही प्रदान गर्ने र त्यहाँबाट नमिल्ने खालका सेवाहरू चाहिँ यहीबाट प्रदान गर्ने कुरा कार्यविधिमा गरिएको छ । 

यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई नेपालबाट नै विदेश जाने बेलामा सामाजिक सुरक्षा नम्बर दिएर पठाउने र उसले मासिक वा वार्षिक रूपमा एकमुष्ट रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्ने गरी पनि कार्यविधिमा व्यवस्था गरिएको छ ।

तर अहिले भएका यी व्यवस्थाहरूमा श्रम मन्त्रालयले कार्यविधि स्वीकृति गर्दा केही परिवर्तन गर्न सक्ने सम्भावना भने रहन्छ ।

तपाईको प्रतिक्रिया