आँखा देखुन्जेल, म मेरै पौरखमा बाँच्छु

 मंसिर २२, २०७९ बिहिबार १६:२:१९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

दीलमाया बास्तोला/देउमाई नगरपालिका, इलाम । 

काठमाण्डौ – मानिसले सुखहरू समयसँगै भुल्छ होला । तर दुःखका क्षणहरू सायदै भुलिन्छ । भन्छन् नि सुखमा नमात्तिनु दुःखमा नआत्तिनु । यो कुरा मेरो जीवनमा पनि ठ्याक्कै मेल खान्छ । आजभन्दा निकै वर्षअघि गाउँघरमा दशैँ सुरु भएको थियो । तर मेरो मन भने विचलित भइरहेको थियो ।

हातमा एक रुपैयाँ थिएन । दशैँ कसरी मनाउने, बालबच्चाको पेट के कुराले भर्ने भन्ने चिन्ता थियो । गाउँमा एउटा समूह थियो । त्यहाँ मैले पनि पैसा जम्मा गर्थेँ । एक दुई रुपैयाँ गर्दै समूहमा जम्मा गरेका पैसा पाँच सय भएको थियो । त्यही पैसा निकाल्ने सोच आयो । 

समूहमा गएर जम्मा गरेको पैसा निकाल्नु पर्यो भने । तर कमजोर हुँदा आफ्नै पैसा लिन पनि कति गाह्रो रहेछ भन्ने कुराको अनुभव त्यो बेला भयो । 

मैले पाँच पाँच रुपैयाँ गरेर जम्मा गरेको पैसा निकाल्न पनि उहाँहरूले बचन लगाउनुभयो । मेरा छोराछोरी भोकै हुँदा पनि मैले नै जम्मा गरेको त्यो पैसा पाउँदिन भने  के अर्थ भनेर भनिदिए मैले पनि । 

जसोतसो त्यो बेला आँधा पैसा दिनुभयो । त्यो बेला दशैँ टर्‍यो । त्यो बेलामा लाग्थ्यो  अगौजी भात खाएर मानिसका अगाडि उभिन सक्दिन होला । तर समय बितेर गयो । काखका लालावाला आज कमाउन देश विदेश गएका छन् । आज मसँग सुखको संसारमा छ र पनि कहीँ कतै आज पनि ती सम्झनाहरू ताजै छन् । 

१३ वर्षको उमेरमा म तेस्री श्रीमतीको रूपमा घरमा भित्रिएको थिएँ । त्यो बेला मेरा अघिल्तिर दुःख मात्र थियो । श्रीमानको जागिर थिएन । अधिया(अरूको खेतीमा आफूले काम बाली लगाउँदा पाइने आँधा भाग)  र मेलापात गर्दै छाक टार्नु पथ्र्यों ।  कहिले एउटा बाख्रा त कहिले दुई चार वटा कुखुरा बेचेको पैसाले नुन तेलको जोहो गरेँ । खेतीपाती नै घर चलाउने मुख्य स्रोत थियो । 

तर समय फेरियो । समयसँगै मैले आफूलाई पनि फेरेँ भनौँ ।

हुन त अहिले पनि मैले कुनै सहर गएर व्यापार व्यवसाय त गरेको छुइन । जे जति गरेको छु सबै आफ्नै घरमा नै गरेको छु । जुन माटोमा म एक छाक खानका लागि तड्पिएको थिए आज त्यही माटोलाई हराभरा बनाएको छु । 

पहिले एक दुई वटा कुखुरा, बाख्रा पाल्ने गरेको थिएँ । जसबाट आम्दानी हुँदैन थियो । तर अहिले खोरमा साना ठुला गरी करिब ४० वटा बाख्रा छन् । तीन वटा भैँसी र ३ गाई छन् । पाडा पाडी र बाच्छा बाच्छी पनि छन् । घरमा कुट्ने पिस्ने मिल पनि छ । गाई बस्तुका लागि आवश्यक पर्ने दाना पनि बिक्रीका लागि राखेको छु । विभिन्न जातका ४० भन्दा बढी कुखुराहरू छन् । 

सुरुमा मलाई यी नै कुखुरा बाख्राबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने नै लाग्दैन थियो । बिस्तारै एक दुई वटा बेच्दै अलिअलि घर खर्च चाहिँ पुर्‍याइन्थ्यो । तर २०७७ सालमा सुरक्षित आप्रवासन कार्यक्रम सामीले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा बसेपछि भने यही कामलाई पनि बढाएर मनग्य आम्दानी गर्न सकिने रहेछ भन्ने कुरा सिकेँ ।

छोरो विदेशमा भएकाले यो कक्षामा बस्ने अवसर पाएँ र कक्षामा बसेर व्यवसाय बढाउने, लगानी गर्नेदेखि बिमासम्मका कुराहरू सिक्न पाएँ । त्यसपछि मैले अलिअलि ऋण पान गरेरै भए पनि बस्तुहरू बढाउँदै लगेँ र व्यवसायीक रूपमा नै पाल्न थालेँ । गर्दै जाँदा राम्रो पनि हुँदै गयो । 

काम पनि घरमा सबै जना मिलेर गर्छौँ । मेरो श्रीमानले पनि सघाउनुहुन्छ । बुहारी छोरी हामी सबैले यही कामलाई प्राथमिकता दिएर गरिरहेका छौँ । 

पहिलाको हेरी त अहिले सब थोक छ । कमाउनका लागि कान्छो छोरा र ज्वाइँ साउदी जानुभएको छ । हामी घरमा भएकाहरू पनि कमाइ रहेका छौँ । 

अहिले आफ्नो अवस्था देखेर आफैँलाई निकै खुसी लाग्छ । घर चलाउन कसैसँग दुई चार पैसा ऋण काढ्न पर्दैन । हातमा पैसा आइराख्छ । डेरीबाट आउँछ, एउटा कुखुरो बेचे पनि पैसा आउँछ, एउटा पाठो नै बेचे पनि पैसा आउँछ ।  

अहिले त मैले थुप्रै सपनाहरू देख्न थालेको छु । यही कृषि कर्मलाई अब १० वर्षमा एउटा नमुना बनाउने योजना बनाएको छु । नातिनातिनालाई राम्रो शिक्षा दिन मन छ । उनीहरूले कहीँ कतै शिर निहुराउन नपरोस् भन्ने मेरो कामना छ ।  

अब बिस्तारै गाइहरू थपेर डेरी नै सञ्चालन गर्ने योजना छ । मलाई त आँट पनि आउँछ । तर छोराहरू ऋण गर्न अलिक डराउँछन् । तर मलाई त ऋण नभएको मानिस को पो हुन्छ र जस्तो लाग्छ । काम गर्छु । मेहनत गर्ने मानिसलाई केही कुराले पनि ढाल्न सक्दैन । मसँग आँट र विश्वास छ । आँखा देखुन्जेल, म मेरै पौरखले बाँच्छु।

तपाईको प्रतिक्रिया