घरेलु श्रमिकका कारण हाम्रो जीवन सहज भएको छ : कुवेती रोजगारदाता

 चैत २, २०७९ बिहिबार १५:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : कुवेत टाइम्स

कुवेत – घरको कामका लागि घरेलु श्रमिक राख्नु कुवेतीका लागि सामान्यजस्तै भएको छ ।

घरेलु श्रमिकको कारण नै कयौँ कुवेती परिवारको दैनिकी सहज भएको छ भने स्वस्थ दैनिकी जिइरहेका छन् । घरको सरसफाइ, खाना पकाउनेदेखि बालबच्चाको रेखदेखसम्म घरेलु श्रमिकले गरिदिँदा कुवेतीहरुले आफ्नो जीवन सहज रूपमा चलाउन पाएको बताउने गरेका छन् ।

अम अहमेद भन्नुहुन्छ ‘मेरो घरमा घरको काम गर्न सघाउने सहयोगी भएकै कारणले निकै सहज भएको छ, उनले हामी सबैको जीवनलाई सहज बनाइदिएकी छन्, उनी भएकै कारण हामीले घरको काममा समय र बल लगाउन परेको छैन । अहमेदले १० वर्ष भयो घरेलु श्रमिक राख्न थाल्नुभएको । उहाँ भन्नुहुन्छ ‘घरको काम गरिदिने मान्छे भएकै कारण हामीले परिवारमा गुणस्तरीय समय बिताउन पाएका छौँ ।’

घरेलु श्रमिकहरूले घरलाई घरजस्तै बनाउने गरेका छन् । घरेलु श्रमिकले नै परिवारका सबै सदस्यको खानपानदेखि लुगाफाटो धुने र घर सरसफाइको कामसम्म एक्लै गरिरहेका हुन्छन् । अहमेदलाई घरेलु श्रमिक भएकै कारण घर सफा र चट्ट छ जस्तो लाग्छ । आफूले घरमा काम गर्ने श्रमिक भए पनि परिवारको सदस्यकै रूपमा हेर्ने गरेको अहमेद बताउनुहुन्छ । 

‘मेरो बालबच्चाको रेखदेख र हुर्काइमा उनको ठुलो भूमिका छ, उनी भएर नै मेरो घर घरजस्तो छ’ अहमेद भन्नुहुन्छ ।

कुवेतमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाहरूले घरको खानपिनको बन्दोबस्त मात्र होइन एउटा अभिभाव भएर बालबच्चाको रेखदेख पनि गरिरहेका हुन्छन् । बालबालिकालाई सरसफाइ गरिदिने, उनीहरूका लागि खाना बनाउने, खुवाउने, स्कुल पठाउनेदेखि दिनरात नभनी घरेलु श्रमिक नै बच्चाको रेखदेखमा खटिइरहेका हुन्छन् । 

त्यस्तैले पनि कुवेतका धेरै महिला र बालबालिकाले घरेलु श्रमिकलाई दोस्रो आमाको रूपमा हेर्ने गरेका छन् । 

कुवेतमा घरेलु श्रमिकको रूपमा कार्यरत फ्लोरा भन्नुहुन्छ ‘कुवेतमा घरेलु श्रमिक भएर काम गर्नुको सकारात्मक र नकारात्मक दुवै कुरा छन्, मेरो हकमा भने सकारात्मक कुरा यो छ कि मेरो रोजगारदाता राम्रो छन् ।’

रोजगारदाताले आफूलाई परिवारको सदस्यकै रूपमा व्यवहार गर्ने गरेको र आफूले मेहनत गरेर काम गर्दा त्यसको जस दिने गरेको फ्लोरा बताउनुहुन्छ । आफूले कुवेतमा घरेलु श्रमिक भएर काम गरेर आफ्नो परिवारलाई आर्थिक रूपमा सहयोग गर्न सकेकोमा उहाँ खुसी हुनुहुन्छ । 

तर जस्तो तस्तो ज्यानले कुवेतमा घरेलु श्रमिकको रूपमा काम गर्न नसक्ने फ्लोराको अनुभव छ । 

‘घरमा काम गर्न बलियो र स्वस्थ शरीर चाहिन्छ, किनकि काममा धेरै नै मेहनत गर्नुपर्छ, बिरामी भइरह्यो भने काम गर्न सकिँदैन, हामी परिवारसँग टाढा हुन्छौ त्यस कारण पनि हामी कमजोर हुनुहुँदैन’ फ्लोरा भन्नुहुन्छ ।

बिरामी हुँदा, परिवारलाई आवश्यकता परेको बेलामा सहयोग गर्न नसक्दा भने फ्लोरालाई नरमाइलो लाग्छ ।

कुवेत टाइम्सबाट 

तपाईको प्रतिक्रिया