वैदेशिक रोजगारीमा रहेकालाई स्वास्थ्य सम्बन्धी परामर्श दिन भोलिदेखि टेलिमेडिसिन सेवा सुरु हुने

 चैत १४, २०७९ मंगलबार ११:४७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले भोलिदेखि टेलिमेडिसिन सेवा सुरु गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गर्दै टेलिमेडिसिन सेवा सुरुवात गर्न लागेको बोर्डले जनाएको छ । टेलिमेडिसिन सेवा भोलि अर्थात् चैत १५ गते बुधवार बिहान १० बजेदेखि सुरुवात हुने छ ।

सार्वजनिक बिदाको दिन बाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका नेपालीहरूले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्स एपा वा इमो लगायतको माध्यममार्फत सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सक्नेछन् । विदेशबाट तपाईँले राख्नुभएका स्वास्थ्य सम्बन्धी समस्या र जिज्ञासा कल टेलिमेडिसिनका मेडिकल अधिकृतले उठाउनेछन् ।  

बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रवार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ । आइतबार र शुक्रवार धेरैजसो गन्तव्य देशमा सार्वजनिक बिदा पर्ने भएकाले पनि यस दिन विशेषज्ञ सेवा उपलब्ध गराइने भएको हो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई भाषा र अन्य विविध समस्याको कारण बिमारी गर्दा सामान्य परामर्श लिन पनि समस्या भएको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

1 Comments

तपाईको प्रतिक्रिया