भिजिट भिसामा विदेश पुर्‍याएर अलपत्र पार्ने क्रम बढ्यो, प्रमाण नहुँदा न्याय पाउन समस्या

 जेठ २३, २०८० मंगलबार ११:१७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – विभिन्न व्यक्ति तथा संस्थाले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर भिजिट भिसामा विभिन्न देश पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार विभिन्न कन्सल्टेन्सी र व्यक्तिहरूले राम्रो काम र कमाइको लोभ देखाइ भिजिट भिसामा लैजाने र विभिन्न देशमा पुर्‍याएर अलपत्र पारी ठगी गर्ने क्रम बढेको हो । 

मोबाइल नम्बर, फेसबुक, युटुयुव लगाएका सूचना प्रविधिको प्रयोग गरी फिलिपिन्स, इजरायल, माल्टा लगायतका देशमा आकर्षक तलब र सुविधाको प्रलोभन देखाउने, पैसा उठाउने र गैरकानुनी ढङ्गबाट यी देशमा पुर्‍याइ अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । 

यसरी वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गरेर भाग्ने क्रम बढेपछि विभागमा यस प्रकृतिको उजुरी पनि दिनहुँ बढिरहेको छ । 

तर बिना प्रमाणका यस्ता मुद्दामा पीडितलाई समयमा न्याय दिन कठिन भएको विभागले जनाएको छ । लाखौँ रुपैयाँ ठगी भएको हुँदा पनि प्रमाण नहुँदा ठग्ने व्यक्तिलाई कारबाही गर्न समय लाग्ने गरेको छ । 

त्यसैले वैदेशिक रोजगारीमा जाँदा इजाजत लिएका म्यानपावर कम्पनीमार्फत मात्र जान  र वैदेशिक रोजगारीको लागि रकम बुझाउँदा प्रयोजन खुलाई भरपाई साथमा राख्न विभागले अनुरोध गरेको छ ।

 विदेशमा काम गर्न सरकारसँग श्रम स्वीकृति लिएर मात्र जानु पर्छ । घुम्नका लागि जाने भिजिट भिसामा कामका लागि जाँदा विदेशमा पुगेपछि अलपत्र पर्ने र ठगिने सम्भावना हुन्छ । 

तपाईको प्रतिक्रिया