‘साउदीमा कमाएर घरको ऋण तिर्छु भन्नुहुन्थ्यो, गएको एक वर्षपछि आफैँ हराउनुभयो’

 जेठ २३, २०८० मंगलबार १६:१४:१०
unn.prixa.net

मेरो नाम कुमारी बिक हो । घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपा हो । मेरा श्रीमान् शुक्र विश्वकर्मा २०७३ सालमा रोजगारीको सिलसिलामा साउदी अरेबिया जानुभएको थियो ।

उहाँ विदेश जानुको एउटै उद्देश्य घर बनाउँदा लागेको ऋण तिर्नु थियो । घर सल्लाहमा नै विदेश जानुभएको थियो । तर खै के भयो भयो गएको एक वर्षपछि त फोन नै आउन छाड्यो । उहाँको काम र कमाइ राम्रो नै थियो ।

तर एक दिन ‘अबदेखि मैले कम्पनी छाडेँ अब म केही गर्न सक्दिन’ भन्नुभयो । म नेपाल फर्कन पनि सक्दिन भन्नुभएको थियो । त्यस दिनदेखि के भयो कुन्नी न फोन आयो न त आजका दिनसम्म मान्छे नै आउनुभयो ।

उहाँ सम्पर्कविहीन भएपछि साहुहरूले घर घेर्न थाले । कि त घर छाड् कि त पैसा तिर भनेपछि मैले घर नै छाडिदिएँ । 

घर बनाउँदा र उहाँ विदेश जाँदा गरी १० लाख रुपैयाँ ऋण लागेको छ । एक मनमा श्रीमानको चिन्ता छ त अर्को मनमा ऋणको । तर उहाँको खबर मात्र पाउन पाए पनि जसोतसो ऋणको व्यवस्थापन गर्नुहुन्थ्यो भन्ने मनमा लाग्छ ।

घरमा दुई छोरा र एक छोरी छन् । बुवाकै पिरले उनीहरू पनि डुबेका छन् । बुवा कहिले आउँछन् भनेर बाटो हेरिरहन्छन् । ऋण तिर्न नसकेर भएको घर पनि साहुले लिएका छन् । मेला मजदुरी गरेर मैले चार जनाको ज्यान पालेर बसेकी छु । 

उहाँ साउदीमा हुनुहुन्छ भने जसरी पनि घर आउनुहोस् । पैसा चाहिँदैन । तपाईँ भए बाँकी समस्या त जसोतसो समाधान गरौँला । 

(प्रस्तुति : लीला निरौला । उहाँ आप्रवासी स्रोत केन्द्र खोटाङमा परामर्शकर्ता हुनुहुन्छ ।​)

तपाईको प्रतिक्रिया