वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमी बनेकाहरु राष्ट्रिय पुरस्कारबाट सम्मानित

 जेठ २६, २०८० शुक्रबार १९:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुँदै बाराका सरोज कोइराला

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सरकारले सम्मान गरेको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० जना उद्यमीलाई पुरस्कारसहित सम्मान गरेको हो । 

आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट बाराका सरोज कोइराला सम्मानित हुनुभएको छ । वैदेशिक रोजगारीमा लामो समय यूएईमा बिताएर अहिले निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आउनुभएका कोइराला एक लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

यस्तै उद्यमी राष्ट्रिय पुरस्कारबाट ९ जना सम्मानित हुनुभएको छ । यसरी सम्मानित हुनेमा एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालीका सञ्चालक म्याग्दीका महिन्द्र बानियाँ, छिन्गु मल्टी पर्पोज प्रालीका सञ्चालक रुपन्देहीका सुवर्ण पोखरेल र एम.एस. कृषि तथा पशुपालन फर्मका सञ्चालक महोत्तरीका मनोज राई हुनुहुन्छ । यस्तै रसिलो एग्रिकल्चर नेपाल प्रालीका सञ्चालक मनोज ढकाल, नीलराज फुयाल र जितेन्द्र बानियाँलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरिएको छ । यस्तै किराँत एग्रिकल्चर एण्ड लाइभ स्टक फर्मका सञ्चालक सुनसरीका नवीनकुमार राई, कन्सुलर एक्सन प्लान अफ रेस्पोन्सिबल डेभलपमेन्ट सोसाइटी प्राली (कार्ट्स)का सञ्चालक नवलपरासीका मोहनबहादुर कार्की र बेदकोट बेस्लरी उद्योगका सञ्चालक कञ्चनपुरका धनबहादुर धानुक यो सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुभएको छ । सम्मानित हुने उद्यमी मलेसिया, खाडीका देश लगायत दक्षिण कोरियामा राेजगारी गरेर फर्केकाहरु हुनुहुन्छ ।

वि.स. २०७६ सालदेखि यो पुरस्कार प्रदान गरिँदै आएको छ । मन्त्रालयले यो पुरस्कारको लागि आवेदन माग गर्छ । मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्ने उद्यमीहरु यस पुरस्कारबाट सम्मानित हुन्छन् । यो पुरस्कारको लागि कामदार भिसामा विदेश गएर कम्तीमा एक वर्ष काम गरेर फकिएको हुनुपर्छ । वैदेशिक रोजगारीबाट फर्किर नेपालमा व्यवसाय सञ्चालन गरेको पनि कम्तीमा एक वर्ष पूरा भइसकेको हुनुपर्छ । 

उद्यमीहरुलाई सम्मान गर्दै श्रम मन्त्री शरतसिंह भण्डारीले उहाँहरु देशकै लागि प्रेरणा रहेको बताउनुभयो । आन्तरिक रोजगारी सिर्जना गरेको र देशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गराएकोमा बधाई पनि दिनुभयो । यस्तै श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बधाई दिँदै सबैलाई आ आफ्नाे क्षेत्रबाट मन्त्रालयको ‘ब्राण्ड एम्ब्यास्डर’को रुपमा भूमिका निभाइदिन पनि आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया