नेभिगेशन

यसपटकको फिफा विश्वकप फुटबलबाट युवा खेलाडीहरूको उदय


यसपटकको फिफा विश्वकप फुटबल प्रतियोगीता युवा खेलाडीहरूको उदयका कारण पनि स्मरणीय बनेको छ । २१ वर्षभन्दा कम उमेरका धेरै खेलाडीले विश्वकै ठूलो मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो एक दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व जमाउने संकेत दिएका छन् ।

स्पेनका लामिन यामाल र पाउ कुबार्सी, मोरक्कोका अयुब बुआद्दी, फ्रान्सका डिजिरे डुए, मेक्सिकोका गिल्बर्टो मोरा, नर्वेका एन्टोनियो नुसा, इंग्ल्यान्डका निको ओराइली, अमेरिकाका एलेक्स फ्रिम्यान, स्विट्जरल्यान्डका जोहान मान्जाम्बी र आइभोरी कोस्टका यान डियोमान्डे जस्ता युवा प्रतिभाले सबैको ध्यान ताने ।

विश्वविजेता स्पेनका १९ वर्षीय लामिन यामाल प्रतियोगिताका सबैभन्दा प्रभावशाली युवा खेलाडीमध्ये रहे । स्पेनकै १९ वर्षीय सेन्टर ब्याक पाउ कुबार्सीले पनि विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमध्ये एक बन्ने संकेत दिएका छन् । १८ वर्षीय मिडफिल्डर अयुब बुआद्दीले मोरक्कोको मिडफिल्डलाई मजबुत बनाउँदै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाए । २१ वर्षीय डिजिरे डुएले फ्रान्सका लागि गोल र असिस्ट दुवै गर्दै आफ्नो क्षमता प्रमाणित गरे ।

मेक्सिकोका १७ वर्षका गिल्बर्टो मोरा यस विश्वकपका सबैभन्दा कान्छा प्रभावशाली खेलाडी बने । स्विट्जरल्यान्डका जोहान मान्जाम्बीले तीन गोल र दुई असिस्टसहित आफूलाई उत्कृष्ट आक्रमणकारी मिडफिल्डरका रूपमा चिनाए । आइभोरी कोस्टका यान डियोमान्डेले आफ्नो तीव्र गति र ड्रिब्लिङबाट विपक्षी रक्षापंक्तिलाई लगातार चुनौती दिए ।

नर्वेका एन्टोनियो नुसाले एर्लिङ हालान्डसँगको उत्कृष्ट तालमेल देखाउँदै टोलीलाई साथ दिए भने इंग्ल्यान्डका निको ओराइली आधुनिक लेफ्ट ब्याकको भूमिकामा उत्कृष्ट देखिए । अमेरिकाका एलेक्स फ्रिम्यानले रक्षासँगै आक्रमणमा पनि प्रभाव पार्दै आफ्नो बहुआयामिक क्षमता प्रदर्शन गरे । 

प्रकाशित मिति:
थप खेलकुद