नेभिगेशन

६ अर्ब ९ करोड रुपैयाँमा बिक्री भयाे फेरारीकाे याे कार

इटालीकाे लक्जरी कार निर्माता फेरारीको पहिलो पूर्ण विद्युतीय कार ४ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ९ करोड रुपैयाँमा बिक्री भएको छ । याे कार लिलामीबाट बिक्री भएकाे नयाँ कारमध्ये सबैभन्दा महँगो बनेको बीबीसीले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित लिलामीमा ‘फेरारी लुस’ नामक कार यसको सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा धेरै मूल्यमा बिक्री भएको हो ।

‘लुस’ लाई आईफोनका डिजाइनर सर जोनी आइभको परिकल्पना मानिन्छ । गएको मे महिनामा सार्वजनिक भएपछि यसले विभिन्न पक्षबाट आलोचना खेप्नुपरेको थियो; आलोचकहरूले यो फेरारीको परम्परागत डिजाइनभन्दा भिन्न रहेको तर्क गरेका थिए । साथै कतिपयले ५ सिट क्षमता भएको ब्याट्रीबाट चल्ने कार उत्पादन गरेर ब्रान्डले आफ्नो पहिचान गुमाएको धारणा पनि राखेका थिए ।

आयोजकहरूले यस बिक्रीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेशनका शैक्षिक कार्यक्रमहरूका लागि सहयोगस्वरूप प्रदान गरिने बताएका छन् ।

यो कारमा विशेष पाङ्ग्रा, परिमार्जित ब्रेक र सेतो रङको फिनिश समावेश छन् ।

लिलामीमा फेरारी कारहरूले प्रायः सबैभन्दा धेरै मूल्य पाउँछन् । यद्यपि लिलामीमा अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको कीर्तिमान ‘१९५५ मर्सिडिज–बेन्ज ३०० एसएलआर उलेनहाउट कुपे’ का नाममा छ । यो कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो ।

प्रकाशित मिति:
थप विश्व