नेभिगेशन
मंगलबार, असोज २७, २०८३

युरोपमा पहिलो पटक चालक नभएको ‘रोबोट्याक्सी’ सेवा शुरू

विश्वप्रसिद्ध राइड–हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलो पटक क्रोएशियाको राजधानी जाग्रेबमा आफ्नो ‘रोबोट्याक्सी’ अर्थात् (चालकविहीन ट्याक्सी) सेवा शुरुआत गरेको छ ।

क्रोएशियाली स्वायत्त कम्पनी भर्नसँगको सहकार्यमा अस्ति बुधवारदेखि चालकविहीन ट्याक्सी सञ्चालनमा आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएकाे छ । यससँगै जाग्रेब उबर एपमार्फत स्वचालित ट्याक्सी बुक गर्न सकिने युरोपको पहिलो शहर बनेको छ ।

भर्नका सह–संस्थापक एवम् प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रीकाले यो उपलब्धि वर्षाैँकाे निरन्तर प्रयास र प्राविधिक विकासबाट सम्भव भएको बताउनुभएको छ ।

स्वचालित ट्याक्सीको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास भइरहेको छ । ती ट्याक्सीको ड्यासबोर्डमा जडान गरिएको ट्याब्लेटमार्फत शहरका चोक, ट्राफिक लाइट र पैदलयात्रीका बीचबाट कसरी मार्गनिर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ ।

भर्नले चिनियाँ साझेदार पोनी एआईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको हो । भविष्यमा थप सुविधायुक्त ट्याक्सी सञ्चालनमा ल्याउने योजना रहेको मुन्द्रीकाले बताउनुभएको छ ।

अहिले यो सेवा जाग्रेबको झन्डै १०० वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ । प्रयोगकर्ताले भर्नको आफ्नै मोबाइल एप वा उबर एपमार्फत यो ‘रोबोट्याक्सी’ सेवा लिन सक्नेछन् ।

यो शुरुआतलाई युरोपको यातायात क्षेत्रमा एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
थप विश्व