नेभिगेशन

युरोपका जंगलमा लागेको डढेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ्यो

युरोपमा फैलिरहेको डढेलोले दशकौँ पुराना विश्वयुद्धकालीन विस्फोटक पदार्थलाई सतहमा ल्याएर सुरक्षा जोखिम बढाएको छ ।

पहिलो र दोस्रो विश्वयुद्धका बेला युरोपका विभिन्न ठाउँमा खसालेका तर नपड्किएका लाखौँ बम र बारुदी सुरुङ अझै पनि जमिनमुनि वा जंगलभित्र छन् ।

यस वर्षको अत्यधिक गर्मी र वन जङ्गलमा लागेको डढेलोका कारण ती पुराना हतियारहरू फेरि सक्रिय हुन थालेका समाचारसंस्था एपीले जनाएको छ । फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्यान्ड्समा डढेलोका कारण जमिन तातेर कतिपय बम आफैँ पड्किएका छन् भने आगो निभाउन जाने उद्धारकर्मीहरू उच्च जोखिममा परेका छन् ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनले युरोपको ‘जलवायु सुरक्षा’लाई मात्र नभई ‘भौतिक सुरक्षा’लाई समेत गम्भीर चुनौती दिएको छ । पछिल्ला दिनहरूमा खडेरीका कारण जलस्तर निकै घट्दा इटालीको सबैभन्दा ठूलो ‘पो’ नदी र जर्मनीको ‘राइन’ नदी किनारमा दोस्रो विश्वयुद्धकालीन सयौँ किलोका विशाल बमहरू फेला परेका छन् ।

त्यस्तै, जर्मनीको राजधानी बर्लिनमा रहेको ग्रुनेवाल्ड जङ्गलमा भीषण डढेलो लाग्दा त्यहाँ पुरिएका पुराना हतियारहरू विस्फोट भएका छन् । जसका कारण अग्निनियन्त्रकहरूलाई आगोको नजिक जानसमेत कठिन भएको थियो । बेल्जियमको ‘हाई फेन्स’ र फ्रान्सको ‘रेड जोन’ भनिने क्षेत्रमा अहिले पनि हजारौँ टन हतियार पुरिएका छन् ।

अहिले बढेको सुक्खा र डढेलोले वर्षौंदेखि रहेका ‘टाइम बम’हरू पुनः सतहमा आएका छन् । जसले दशकौँदेखि ओझेलमा परेको युद्धको घाउलाई फेरि बल्झाइदिएको छ ।
 

प्रकाशित मिति:
थप विश्व