नेभिगेशन

बाढीमा अलपत्र धेरै नागरिक अझै उद्धारको पर्खाइमा

काठमाण्डौ – गएको बुधबार रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि जलविद्युत आयोजनाको सुरुङ, जंगल र भिरपखेरामा आश्रय लिएर बसेकाहरु अझै उद्धारको पर्खाईमा छन् । परिवार तथा आफन्तहरूले स्याफ्रुबेँसी, लाङटाङ, चिलिमे तथा त्रिशूली जलविद्युत् आयोजनाका सुरुङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सुरुङमा फसेका नागरिक तथा कामदारलाई उच्च प्राथमिकता राखेर उद्धारको काम भैरहेको बताउनुभएको छ । त्यसका लागि आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले उद्धार तथा खोजी कार्यलाई बाढी प्रभावित क्षेत्रको तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको जानकारी दिनुभएको छ । अहिलेसम्म झण्डै साढे चार हजार जनाको उद्धार गरिएको छ । बाढीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आइसकेको छैन ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म झण्डै दुई हजार जना सम्पर्कविहीन छन् । बाढीमा रसुवा र नुवाकोटका स्थानीयबासिन्दा तथा गोसाईंकुण्ड घुम्न गएका पर्यटकहरु कति थिए भन्ने पूर्ण विवरण आउन बाँकी छ ।

बाढीपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको संख्या थप गरिएको छ । १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका सरकारले जनाएको छ ।


 

प्रकाशित मिति:
थप समाज