नेभिगेशन

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झनामा झाँकीसहित नगर परिक्रमा

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा चलिरहेको छ ।

यसरी निकालिएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न तथा द्रव्य दान गर्ने परम्परा छ । गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका व्यक्तिले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

यही विश्वासका आधारमा राजधानीको वसन्तपुर, असन, इन्द्रचोक, बाङ्गेमुढा, लगन, ओमबहाल, टेकु, त्रिपुरेश्वर, क्षेत्रपाटी, ठमेल, बागबजार, डिल्लीबजार, जयवागीश्वरी, चाबहिल, गोकर्ण, साँखु, टोखा र कीर्तिपुरलगायत स्थानमा गाईजात्राका झाँकी निकालिएका छन् ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु भएको हो । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्राका क्रममा हनुमानढोकामा रहेको राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । गाईजात्राका क्रममा प्रहसन, सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतसमेत गाइन्छन् ।

यस वर्ष भने भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण धेरैको निधन भएकाले प्रहसनलगायत हास्यव्यङ्ग्यात्मक कार्यक्रम आयोजना नगरिएको जनाइएको छ ।

प्रकाशित मिति:
थप समाज