नेभिगेशन

अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी

काठमाण्डौ – चीन र नेपाल दुवैतर्फ भोटेकोशी नदी हुँदै आएको भीषण बाढीको कारक रहेको हिमपहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ ।

तिब्बतको केरुङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए । पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिमनदी पहिरो कैद भइसकेको थाहा पाएका हुन् ।

चिनियाँ एकेडेमी अफ साइन्सेजका निर्देशक काङ सिचाङका अनुसार, स्याटेलाइट नक्सासँग भिडियो भिडाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यही हिमनदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदोसहितको भयानक बाढी आएको चिनियाँ अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन् । यस्तै हिमपहिरो कसरी शुरु भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार, बुधबार बिहान तिब्बततर्फको सांग्बु री हिमशिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनेटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यका नै थर्किएको बताएका छन् ।

पहिरोअघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ । धुलोको मुस्लोजस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट साना–साना बरफका टुक्रा भिरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ ।

यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढेको छ भन्ने स्पष्ट पार्छ । अनि नेपालमा विध्वंश मच्चाएको स्रोत पनि थाहा भएको छ ।  

प्रकाशित मिति:
थप समाज