नेभिगेशन

नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्णरूपमा बाहिरियाे

काठमाण्डाै – चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु त्साङ्पोको दोभानमा बनेको तालबाट पूर्णरूपमा पानी बाहिरिएको जनाएको छ ।

नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा ल्हेन्दे खोलामा बनेको तालबाट पानी आफैँ बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ ।

गएकाे बुधवार बिहान लाङटाङ री हिमालको उत्तरी मोहडामा हिमचट्टानसहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढी आएको थियो । त्यस्तै ल्हेन्दे खोला पनि थुनिएको थियो ।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झन्डै २० लाख घनमिटर पानी जम्मा भएको थियो । अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ ।

आज बिहान फेरि भोटेकोशी एवम् त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ ।

सिजाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार बुधवार चीन–नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परेर कम्तीमा १६ जनाको ज्यान गएको छ भने ५४६ जना सम्पर्कविहीन छन् । तीमध्ये २६१ जना विदेशी नागरिक रहेका पहिचान भएको छ । सम्पर्कविहीनहरूको खोजी भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज