नेभिगेशन

अमेरिकी हिरासतबाट मादुरोको पहिलो तस्वीर सार्वजनिक

भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले अमेरिकी हिरासतबाट २ वटा तस्वीर सार्वजनिक गर्नुभएको छ । उहाँ गएको जनवरीदेखि अमेरिकी हिरासतमा हुनुहुन्छ ।

अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेर न्युयाेर्क पुर्‍याएको थियो ।

मादुरो दम्पतीलाई लागूऔषध ओसारपसार र अवैध रूपमा बन्दुक राखेको आरोपमा न्युयोर्कको ब्रुकलिनमा रहेको एक केन्द्रमा राखिएको छ । यद्यपि मादुरो दम्पतीले भने यी आरोपहरू अस्वीकार गरेका छन् ।

2-1788170275.jpeg
तस्वीर : सामाजिक सञ्जाल

‘म मेरा सबै नातिनातिना, केटाकेटी र हामीलाई माया गर्ने सबै असल मानिसहरूका लागि सानो उपहारस्वरूप यी तस्वीरहरू पठाउँदै छु’, मादुरोले सामाजिक सञ्जाल प्लेटफर्महरू ‘एक्स’ र ‘टेलिग्राम’ मा स्पेनी भाषामा लेख्नुभएको छ ।

अमेरिकी हिरासतबाट सार्वजनिक भएका मादुरोका ती २ तस्वीरमा उहाँले खरानी रङको ट्र्याकसुट लगाएको र हातले ‘भिक्टोरी साइन’ अर्थात् शान्तिको सङ्केत देखाइरहेको देखिन्छ । पक्राउ परेपछि उहाँको तौल निकै घटेको देखिन्छ ।

२ वटै पोस्ट हिजो प्रकाशित भएका थिए, तर दुवै तस्वीरमा रहेको समय–सङ्केतले गएको जुन २५ मा खिचिएको देखाउँछ । यो मिति भेनेजुएलाको उत्तरी भागमा २ वटा विनाशकारी भूकम्पले ६ हजार ५०० जनाभन्दा धेरै मानिसको  ज्यान जानुका साथै व्यापक क्षति पुर्‍याएको भोलिपल्टको हो ।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा तेल क्षेत्रहरू सञ्चालन गर्न अमेरिकालाई अनुमति दिने ‘ऐतिहासिक’ सम्झौता घोषणा गरेको २ दिनपछि मादुरोले तस्वीर सार्वजनिक गर्नुभएको हो ।

जेलमा मादुरोसँग पत्रपत्रिका वा इन्टरनेटको पहुँच छैन तर उहाँलाई आफ्नो परिवार र वकिलहरूसँग फोनमा कुरा गर्न अनुमति दिइएको छ जसमा प्रतिकल धेरैमा १५ मिनेट र महिनामा झन्डै ३०० मिनेटसम्म कुरा गर्न पाइने समाचार संस्था अलजजीराले जनाएको छ ।

न्युयोर्कमा रहेको सङ्घीय अदालतले जुलाईको अन्त्यतिर घोषणा गरेअनुसार अमेरिकामा मादुरो र उहाँकी पत्नीको मुद्दाको सुनुवाइ आउँदो वर्षको जुन १ देखि शुरू हुनेछ ।

प्रकाशित मिति:
थप विश्व