नेभिगेशन
आइतबार, असोज २५, २०८३

गलौंदीमा सडक खुल्यो, अहिलेलाई ‘होल्ड’ भएका गाडी मात्रै सञ्चालन

काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौंदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सडक आज दिउँसोपछि मात्रै पूर्ण रुपमा सञ्चालन हुने भएको छ ।

सडक भासिएको ठाउँको भित्ता काटेर नयाँ ट्रयाक खोल्ने काम गएराति सकिएको छ । भित्तापट्टि नयाँ ट्रयाक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाडीलाई मात्रै सञ्चालन गर्न दिइएको गजुरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक बनाउने काम पूरा हुनै बाँकी छ । दुवैतिर रोकिएका गाडी पार भएपछि फेरि गाडी बन्द गरेर सडक बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रुपमा सञ्चालन हुने गजुरी प्रहरीले जनाएको छ ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले अस्ति बेलुकीदेखि सडक पूर्ण रुपमा बन्द भएको हो । सडक विभागले हिजो बेलुकी निकालेको सूचना अनुसार भित्तापट्टिको भाग कटान गरी सडक विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको र सडक आज बेलुकादेखि मात्र दुईतर्फी खुल्नेछ ।

विभागले सडक पुनः सञ्चालन नभएसम्म यात्रुहरुलाई अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गरी सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति:
थप समाज