नेभिगेशन
आइतबार, असोज २५, २०८३

बुढीगण्डकीमा बाढी : केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – बुढीगण्डकी नदीमा एक्कासी बाढी आएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा पहिरो खसेर थुनिएपछि बुढीगण्डकीमा एक्कासी लेदोसहितको ठूलो बाढी आएको हो ।

चुमनुब्रीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढी आएको बताएका छन् । एकाबिहानै ठूलो आवाजसहित बाढी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन् ।

बुढीगण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीले आग्रह गरेको छ । बुढीगण्डकी नदी आरुघाटमा बाढीले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले त्रिशूली दोभानसम्म नदी छेउछाउ नजान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीले नदी तटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । बिहानको बाढीले चुमनुब्रीको पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभएको छ । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको छ ।

बाढीले आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–३ को सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ ।

धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धार्चे गाउँपालिका–३ सल्लेरीका २०–२२ वटा घर जोखिममा छन् । बुढीगण्डकीको बाढीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा हेलिकोप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति:
थप समाज