नेभिगेशन
आइतबार, असोज २५, २०८३

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन : ६ जनाको सकुशल उद्धार

काठमाण्डौ – गोरखाको चुमनुब्री गाउँपालिकाको लोक्पा र चुम्लिङ क्षेत्रमा पहिरो खसेर थुनिएको बुढीगण्डकी नदी एक्कासी लेदोसहित बगेपछि ठूलो भौतिक क्षति भएको छ ।

आज बिहान आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोली उद्धार कार्यमा खटिएका छन् ।

आज सिंहदरबारमा विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टरमार्फत हवाई निरीक्षण भैरहेको र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो ।

डा. उप्रेतीले मौसम अनुकुल नहुँदा तत्काल हेलिकप्टर अवतरण गर्न नसकेको बताउनुभएको छ । समयमै पूर्वसूचना प्राप्त भएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्कालै खाली गराउन सकिएको र तल्लो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले बताउनुभएको छ ।

अरु विवरण संकलनको काम भैरहेको छ । बाढीको प्रभावलाई कम गर्न र मानवीय सम्भावित क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ ।

बाढीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीकाअनुसार नदी थुनिएर क्रमिक रूपमा फुट्ने प्रक्रिया हुँदा बाढी विभिन्न चरणमा आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

उपग्रहबाट प्राप्त प्रारम्भिक तस्बिरहरूमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ । जोखिमको आँकलनअनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल चितवनसम्म मध्यम जोखिम रहेको छ ।

देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले चितवन र नवलपरासी पूर्वका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रकाशित मिति:
थप समाज