नेभिगेशन
आइतबार, असोज २५, २०८३

बूढीगण्डकीको बाढीले ६ वटा पुल बगायो : १० जना सम्पर्कविहीन

काठमाण्डौ –  बूढीगण्डकीको बाढीले ६ वटा पुल बगाएको छ भने अहिलेसम्म १० जनाको अवस्था थाहा हुन सकेको छैन ।

उनीहरु सम्पर्कविहीन छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।  

उहाँका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ । त्यस्तै बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ ।

यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् । बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका झण्डै ३५ घर बगाउनुका साथै जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।

बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि गोरखाको आरूघाट बजार खाली गराइएको छ । माथिल्लो क्षेत्रबाट लेदो र गेग्रानसहितको ठूलो बाढी आएसँगै जोखिम बढेपछि प्रशासनले आरूघाट बजारका बस्ती खाली गराइएको हो । त्यहाँका स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

आज बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङकोबीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएपछि लेदोसहित बाढी आएको हो ।

यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भएको र प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति:
थप समाज