नेभिगेशन
सोमबार, असोज २६, २०८३

काठमाण्डौ उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा तोकिएका ग्यास बिक्री केन्द्रहरूमा उपभाेक्ताको अत्यधिक भीड लागेको छ ।

दशैँका बेला सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास बिक्रेता महासङ्घसँगको समन्वयमा जुनसुकै कम्पनीका सिलिन्डर पनि साट्न पाइने गरी स्थापना गरेका केन्द्रमा उपभाेक्ताको भीड लागेको हो ।

यसैबीच ग्यास सिलिन्डर साट्नेहरूको भीड लागेपछि सङ्घले ६ वटा बिक्री केन्द्रलाई बढाएर आजदेखि ११ वटा पुर्‍याएको छ ।

सङ्घका अनुसार थपिएका नयाँ वितरण केन्द्रहरूमा बूढानीलकण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलङ्कीमा गीता ग्यास, खसीबजारको आरके ट्रेडर्समा सीताश्री ग्यास र सतुङ्गलमा श्रीमाया ग्यास उपलब्ध छ ।

यसअघि ललितपुरको हरिसिद्धिमा श्रीराम, कलङ्कीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ । त्यसैगरी बालाजु औद्योगिक क्षेत्र गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, पेप्सीकोलामा सगर ग्यास र सिफलचौरमा एभरेस्ट र सुगम ग्यास उपलब्ध छ ।

तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा ठाउँबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने सङ्घले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज