नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

दशैँ मनाउन हिँड्नेहरुको चहपहलसँगै परदेशिनुपर्ने बाध्यता र विपत्तिको पीडा पनि सँगसँगै

काठमाण्डाै – दशैँको टीका नजिकिँदै जाँदा गाउँघर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी र विभिन्न पेशा–व्यवसायका सिलसिलामा काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न सहरमा बसोबास गर्दै आएका नेपालीहरू दशैँ मनाउन आफ्नो पुख्र्यौली थलो फर्किन थालेका छन् ।

ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि हिजोसम्म काठमाण्डौ उपत्यकाबाट मात्रै तीन लाख यात्रु दशैँ मनाउन बाहिरिएका छन् । विशेषगरी सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न बसपार्कमा लामो तथा छोटो दूरीका गाडी चढेर आ–आफ्नो गन्तव्यतर्फ जाने यात्रुको चहलपहल बढेको छ । कसैलाई परिवारसँग दशैँ मनाउन घर पुग्ने हतारो छ त कसैलाई किनमेल सकेर गाउँ फर्किने चटारो । वर्षभरि काम र जिम्मेवारीमा व्यस्त रहनेहरूका लागि दशैँ परिवारसँग भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने र पुराना सम्झनाहरू ताजा बनाउने विशेष अवसर पनि हो ।

भोलि फूलपातिदेखि सरकारी बिदा हुने भएकाले घर फर्किने यात्रुको चाप अझै बढ्नेछ । दशैँको समयमा काठमाण्डौ उपत्यका अरु बेलाको तुलनामा सुनसानजस्तै बन्छ । सधैँ व्यस्त रहने सडकमा गाडीको चाप घट्छ, बजारको चहलपहल कम हुन्छ र सहरको व्यस्त जीवन केही शान्त देखिन्छ । तर, यही समयमा सबैका लागि घर फर्किन सम्भव भने हुँदैन ।

कोही परिवारसँग दशैँ मनाउन गाउँ फर्किरहेका बेला कतिपय नेपाली भने रोजगारी र भविष्यको खोजीमा विदेशिन बाध्य छन् । विमानस्थलमा दशैँको खुशी बिर्सेर भारी मनका साथ परदेशिनेहरूका कथा पनि उत्तिकै मार्मिक छन् । परिवारसँगै बसेर टीका लगाउने, आशीर्वाद लिने र खुसी साट्ने रहर हुँदाहुँदै पनि बाध्यताले टाढिनुपर्दाको पीडा उनीहरूको मनमा हुन्छ ।

घर फर्किनेहरूको भीडमा छुटेका यस्ता कथाले दशैँ सबैका लागि समान खुशीको चाड बन्न नसकेको यथार्थ पनि सम्झाउँछन् । त्यसमाथि, यस वर्ष चाडपर्वकै समयमा देशले ठूला विपत्तिको सामना गरिरहेको छ । प्राकृतिक विपत्तिले कतिपय परिवारलाई शोकमा डुबाएको छ भने धेरैको जनजीवन प्रभावित बनाएको छ । यस्तो परिस्थितिमा विगतका वर्षमा जस्तो दशैँको उल्लास देखिएको छैन ।

कतै घर फर्किनेको हतारो छ, कतै परदेशिनेको पीडा त कतै विपत्तिमा परेका परिवारको आँसु । तैपनि दशैँले परिवारसँग भेटघाट गर्ने, दुःख बाँड्ने र एकअर्कालाई साथ दिने सन्देश बोकेको छ । घर फर्किनेहरूका लागि सुरक्षित यात्रा र परिवारसँगको भेटघाट नै ठूलो खुशी हो भने घरबाट टाढा रहनेहरूका लागि आफन्तको सम्झना नै दशैँको सबैभन्दा भावुक पक्ष बनेको छ ।

त्यसैले यस वर्षको दशैँ केवल घर फर्किनेहरूको भीड र चाडपर्वको रौनकमा मात्र सीमित छैन । यसले परिवारसँग जोडिने चाहना, परदेशिनुपर्ने बाध्यता र विपत्तिमा परेका नेपालीको पीडालाई पनि सँगसँगै बोकेको छ ।

प्रकाशित मिति:
थप विशेष