नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठक

सरकारले ताेक्याे गहुँकाे न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

काठमाण्डाै – सरकारले गहुँकाे न्यूनतम समर्थन मूल्य ताेकेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँबालीको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिनुभयाे ।

गएकाे आर्थिक वर्षमा सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ तोकेकाे थियो । यस आर्थिक वर्षमा गहुँकाे न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १६२ रुपैयाँले बढेकाे छ ।

सरकारले पशु बधशाला र मासु जाँच ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गरेकाे छ ।

मन्त्रिपरिषद् बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

सरकारले नेपाल विशेष सेवा (२१औँ संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने, जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवम् सेवाजन्य आपत्कालीन अनुदान सहायता र जर्मनबाट प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

यस्तै बूढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को प्रारम्भ हुन बाँकी दफामध्ये दफा १७ को खण्ड (ङ), दफा २५ र दफा २६ आउँदो कात्तिक १५ गतेदेखि प्रारम्भ गर्नेलगायतका निर्णय भएको छ ।

प्रकाशित मिति:
थप समाज