नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

चिकित्सा शिक्षामा पोहोरभन्दा ४१८ सिट वृद्धि

काठमाण्डाै – चिकित्सा शिक्षा आयोगले चालू शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ९ हजार ६९१ सिट निर्धारण गरेको हो । यो सङ्ख्या गएको वर्षभन्दा ४१८ ले धेरै हो ।

सिट निर्धारण प्रक्रियाका लागि देशभरका ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए । विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनलाई आधार बनाएर ९० मध्ये ८४ वटा शिक्षण संस्थालाई यस वर्ष सिट निर्धारण गरिएको छ ।

कार्यक्रमगत हिसाबले एमबीबीएसतर्फ गएको वर्षको तुलनामा ११० सिट वृद्धि भएको छ । यसअन्तर्गत शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सिट प्राप्त गरेको छ । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०/३० सिट थप भएको छ ।

बीएससी नर्सिङतर्फ गएको वर्षको तुलनामा २१० सिट वृद्धि भएको छ भने बीएमएसमा ९८ सिट थप भएको छ । निजी मेडिकल कलेजको सिट सङ्ख्या भने यथावत् राखिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज