नेभिगेशन
शनिबार, असोज ३१, २०८३

कोप–३१ मा हिमाल पग्लिने र समुद्री सतह बढ्ने मुद्दा एकैसाथ उठाउने नेपालको तयारी

काठमाण्डाै – नेपालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा हिमनदी पग्लिने र समुद्री सतह बढ्ने मुद्दालाई एउटै पर्यावरणीय प्रणालीसँग जोडेर सशक्त रूपमा उठाउने भएको छ ।

आउँदो कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्यामा आयोजना हुने सम्मेलनमा नेपालले हिमाली देश र टापु राष्ट्रहरू जलवायु सङ्कटको समान जोखिममा रहेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने तयारी गरेको हो ।

प्रशान्त क्षेत्रमा अस्ट्रेलिया, टुभालु र फिजीद्वारा आयोजित ‘प्रि–कोप’ बैठकमा सहभागी भएर फर्किनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालसँगको कुराकानीमा जलवायु वार्तामा हिमनदी र हिउँ पग्लिने विषयलाई समेत आधिकारिक रूपमा समेट्न नेपाल सफल भएको बताउनुभएको छ ।

उहाँका अनुसार जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा समुद्री सतह वृद्धिका कारण टापु राष्ट्रहरूले प्राथमिकता पाउँदै आएपनि हिमाली मुलुकहरू पनि जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको तथ्य स्थापित गर्न नेपालले पहल गरेको छ ।

मन्त्री खनालले हिमनदी पग्लिनु र समुद्री सतह बढ्नु एकअर्कासँग जोडिएका विषय भएकाले जलवायु सङ्कटलाई छुट्टाछुट्टै नभई बृहत् पर्यावरणीय प्रणालीका रूपमा बुझ्नुपर्ने नेपालको अडान रहेको बताउनुभयो । हिमाल संरक्षणले टापु राष्ट्रहरूको अस्तित्व रक्षामा समेत योगदान पुर्‍याउने उहाँको भनाइ छ ।

यसै रणनीतिअनुसार नेपालले कोप–३१ का प्रमुख सरोकारवाला देशहरूसँग उच्चस्तरीय संवादसमेत अघि बढाएको छ । सम्मेलनको आयोजक टर्किए भए पनि वार्ताको अध्यक्षता अस्ट्रेलियाले गर्ने भएकाले नेपालले अस्ट्रेलियासँगको कूटनीतिक संवादलाई प्राथमिकता दिएको छ ।

कोप–३१ को तयारीलाई अन्तिम रूप दिन आउँदो कात्तिक १२ गते काठमाण्डौमा विषयगत मन्त्रालय, विकास साझेदार, नागरिक समाज र निजी क्षेत्रको सहभागितामा राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।

प्रकाशित मिति:
थप राजनीति