नेभिगेशन
शनिबार, असोज ३१, २०८३

जनकपुरधामको राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामीसहित फूलपाती भित्र्याइयो

काठमाण्डौ – बडादशैँको सातौँ दिन महासप्तमीका अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी अर्पण गरेपछि फूलपाती भित्र्याइएको हो । समारोहमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति थियो ।

राजदेवी मन्दिरबाट निस्किएको शोभायात्रा परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित जनकपुरधामस्थित गिरिनारी कुट्टी प्राङ्गण पुगेको थियो ।

मिथिलाञ्चलमा दशैँका अवसरमा बेलको पूजा र यससँग सम्बन्धित विधिलाई विशेष महत्त्वका साथ लिने गरिन्छ । परम्पराअनुसार षष्ठी तिथिको साँझ बेलको फललाई रातो वा पहेँलो कपडाले बाँधेर पूजा गरी निम्ता दिने प्रचलनलाई स्थानीय भाषामा ‘बेलनौती’ भनिन्छ ।

त्यसैगरी, सप्तमीको बिहान निम्ता गरिएको बेलको फल टिपेर मन्दिरमा ल्याई शक्तिस्वरूपा भगवतीलाई अर्पण गर्ने विधिलाई ‘बेलतोडी’ भनिन्छ । 

प्रकाशित मिति:
थप समाज