नेभिगेशन
सोमबार, कात्तिक २, २०८३

सडक पुगेको झण्डै २० वर्षपछि म्याग्दीको दरवाङमा कालोपत्रे

काठमाण्डौ - म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको झण्डै दुई दशकपछि कालोपत्रे भएको छ ।

पश्चिम म्याग्दीको व्यापारिक केन्द्रको रूपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । गएको आर्थिक वर्ष २०८२÷०८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्रे योजना केही दिनअघि मात्रै सम्पन्न भएको हो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार दरवाङको तल्लो, उपल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर दुरीमा प्रिमिक्स प्रविधिको कालोपत्रे गरिएको छ । दरवाङ २०६४ सालमा सडक सञ्जालमा जोडिएको थियो ।

एक करोड ६६ लाख ४९ हजार रुपैयाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा एक करोड २६ लाख ८२ हजारमा कबोल भएको सापकोटा बिल्डर्ससँग २०८२ साल माघ ३० गते ठेक्का सम्झौता भएको थियो । सडक बिस्तार र कालोपत्रेपछि आवतजावत सहज भएको छ । 

प्रकाशित मिति:
थप समाज