नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट झण्डै ६ लाख बाहिरिए

काठमाण्डौ – दशैँ मनाउन यसपाली घटस्थापना अर्थात् गएको असोज २५ गतेयता काठमाण्डौ उपत्यकाबाट झण्डै ६ लाख यात्रु बाहिरिएका छन् ।

आज बिहानसम्म सार्वजनिक गाडीबाट पाँच लाख ७६ हजार जनाले काठमाण्डौ उपत्यका छाडेको तथ्याङ्क छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सार्वजनिक गाडीबाट पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् ।

कतिपय आफ्नै साधनको व्यवस्था गरी बाहिरिने गरेका छन् । तर त्यो संख्या तथ्याङ्कमा गणना नगरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले बताउनुभयो । तथ्याङ्कअनुसार पोहोर भन्दा यसपाली बाहिरिनेको संख्या २० देखि ३० हजारले कमी आएको छ ।

पछिल्ला विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको अवस्था, बढ्दो महंगी तथा वैदेशिक रोजगारीलगायतका कारण दशैँमा काठमाण्डौ छोड्नेहरुको संख्या केही कमी आएको हुन सक्ने अनुमान छ ।

आज अहिलेसम्म मुख्य राजमार्ग तथा सडकमा अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज