नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

७ महिनामा विपदमा परी ३८६ जनाले ज्यान गुमाए, सर्पदंशका कारण सबैभन्दा धेरै

काठमाण्डौ - बैसाखदेखि कात्तिकसम्म देशभर भएका सात हजार ४३९ वटा विपद्का घटनामा ३८६ जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशका कारण भएको छ । प्राधिकरणका अनुसार सर्पदंशबाट मात्रै ११० जनाको ज्यान गएको छ भने एक हजार ५२५ जना घाइते भएका छन् । 

यो अवधिमा देशभर सर्पदंशका एक हजार ६२२ वटा घटना दर्ता भएका छन् । सर्पदंशका कारण एक हजार ६२७ परिवार प्रभावित भएका छन् । यस अवधिमा एक हजार ७०९ वटा पहिरोका घटनामा ७६ जनाको ज्यान गएको भएको छ भने तीन जना बेपत्ता र ७५ जना घाइते भएका छन् । 

यो समयमा भोटेकोशी र बुढीगण्डकीमा आएको बाढी बाहेक अरू ४६० वटा घटनामा ४१ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता छन् । भोटेकोशीको आधिकारिक तथ्याङ्क सङ्कलन वा शव पहिचान र बेपत्ताको यकिन विवरण सङ्कलन भई नसकेकोले यो बाढीलाई यसमा समावेश नगरेको प्राधिकरणका प्रवक्ता राम बहादुर केसीले उज्यालोलाई जानकारी दिनुभयो । भोटेकोशी बाढीको आधिकारिक तथ्याङ्क आएपछि  यो विवरणलाई अद्यावधिक गर्ने उहाँको भनाइ छ । यस अवधिमा चट्याङका ३३३ वटा घटनामा ३६ जनाको ज्यान गएको छ २०४ जना घाइते भएका छन् । 

देशभर एक हजार ५०७ वटा आगलागीका घटनामा परी २९ जनाको ज्यान गएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा लेक लागेका ७२ वटा घटनामा २६ जनाको ज्यान गएको । मानव–वन्यजन्तु द्वन्द्वअन्तर्गत जनावरको आक्रमणका ३९८ वटा घटनामा २१ जनाको ज्यान गएको छ भने २४१ जना घाइते भएका छन् । 

हिम पहिरोका घटनामा १९ जनाको ज्यान गएको छ । हावाहुरीका घटनामा १६ जनाको ज्यान गएको छ । एक हजार ४९५ परिवार प्रभावित भएका छन् । ७ महिनामा विपद्का घटनामा नौ हजार ५२५ परिवार प्रभावित भएका छन् । 

प्रकाशित मिति:
थप समाज