नेभिगेशन
बुधबार, कात्तिक ४, २०८३

दशैँमा जमरा पनि बिक्रीमा, घरमा राख्न नपाएकालाई सहज

दशैँको मुख्य दिन विजयादशमीको टीकासँगै लगाइने जमरा काठमाण्डौका विभिन्न ठाउँमा बिक्रीका लागि राखिएको देखिएको छ । 

घटस्थापनाका दिन घरमा जमरा राख्न नपाएका तथा पर्याप्त ठाउँको अभाव भएका व्यक्तिलाई लक्षित गरी केही व्यक्तिले जमरा बिक्रीमा राखेका हुन् । काठमाण्डौको स्वयम्भूमा रहेको भगवान पाउमा आज बिहान घरमै उमारेका जमरा बिक्रीका लागि राखिएको छ । 

सामान्यतया घटस्थापनाका दिन घरमा राखेर विजयादशमीमा टीकासँगै लगाउने जमरा बजारमा बिक्रीका लागि राखिएको दृश्य कतिपयका लागि नौलो लागे पनि केही व्यक्तिले खरिद गरेर लगेका थिए । दशैँमा जमरालाई समृद्धि, सुख र शुभताको प्रतीकका रूपमा लिने गरिन्छ । 

त्यसैले घटस्थापनाका दिन विधिपूर्वक देवीको आह्वान गरी जलपूर्ण घडासँगै जमरा राख्ने धार्मिक परम्परा छ । घरको घाम नपर्ने सफा तथा पवित्र स्थान वा पूजा कोठामा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै लगाउने गरिन्छ । यसरी राखिएको जमरा कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलनसमेत छ । 

तर विभिन्न कारणले घटस्थापनाका दिन जमरा राख्न नपाउने अवस्था पनि हुन्छ। घरमा जुठो वा सुतक परेका, डेरामा बस्ने तथा जमरा राख्न पर्याप्त ठाउँ नभएका व्यक्तिका लागि बिक्रीमा राखिएको जमरा उपयोगी बनेको छ । 

भगवान पाउमा जमरा किन्न पुग्नुभएका स्वयम्भूका रुपेश आचार्यले घरमा सुतक परेका कारण घटस्थापनाका दिन जमरा राख्न नपाएकाले खरिद गर्न आएको बताउनुभयो । 

परम्परागत रूपमा घरमै जमरा राखेर लगाउने चलन रहे पनि बदलिँदो बसोबासको अवस्था र विभिन्न पारिवारिक कारणले जमरा राख्न नसक्नेहरूका लागि यसको बिक्रीले सहजता प्रदान गरेको देखिन्छ । 

धार्मिक आस्था र परम्परासँग जोडिएको जमरा यसरी बिक्रीमा उपलब्ध हुँदा जमरा राख्न नपाएकाहरूले पनि विजयादशमीमा टीकासँगै जमरा लगाउने अवसर पाएका छन् ।

प्रकाशित मिति:
थप समाज