नेभिगेशन
बुधबार, कात्तिक ४, २०८३

इरानमाथि आर्थिक दबाब र सैन्य कारबाही गर्ने अमेरिकाको चेतावनी

अमेरिका र इरानबीच तनाव बढिरहेका बेला दुवै देशका उच्च अधिकारीहरूले आफ्नो अडान थप कडा बनाएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग शान्ति सम्झौता गर्न अत्यन्त कठिन रहेको बताउनुभएको छ । उहाँले तेहरानले होर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न बन्द नगरेसम्म इरानमाथि आर्थिक दबाब जारी रहने स्पष्ट पार्नुभएको छ । रुबियोका अनुसार इरानसँग शान्ति सम्झौतामा पुग्न सहज देखिएको छैन ।

व्यावसायिक जल यातायातलाई सुरक्षित बनाउनु अमेरिकाको प्रमुख चासो रहेको उहाँको भनाइ छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले तेहरानका सर्तहरू स्वीकार नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताउनुभएको छ । उहाँले पाकिस्तान र कतारको मध्यस्थतामा दुवै देशबीच अप्रत्यक्ष वार्ता जारी रहेको पनि जानकारी दिनुभएको छ ।

हर्मुज जलमार्ग विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । विशेष गरी खाडी क्षेत्रबाट विश्व बजारमा कच्चा तेल तथा अन्य ऊर्जा सामग्री आपूर्ति गर्न यो मार्गको महत्त्वपूर्ण भूमिका छ । यो अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजार, तेलको मूल्य र विश्व व्यापारमा असर पार्न सक्छ ।

प्रकाशित मिति:
थप विश्व