बर्दिया - बडादशैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ?
वर्षभरि जहाँ भए पनि दशैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुशी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दशैँको खुशी आएन ।
भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दशैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो ।
विगतका वर्षमा दशैँको दिन घरमा आफन्त जम्मा हुन्थे । अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो ।
तर, यस वर्ष दशैँको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो । टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दशैँको खुशी पनि खोसियो ।
गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस वर्षको दशैँ विगतका वर्षजस्तो रहेन । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उहाँको परिवार शोकमा छ । दशैँमा छोरासँगै टीका लगाउने र खुशी साट्ने आशा गर्नुभएकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो ।
डेढ महिनादेखि छोराको पर्खाइमा रहनुभएकी भगिरथीलाई दशैँ आए पनि मनमा खुशी छैन । घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उहाँको मनमा पीडा र पर्खाइ मात्रै छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दशैँ भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ ।
राजापुर ९ तीनघरवाका सिर्जना थारुको पीडा पनि उस्तै छ । भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारु बेपत्ता भएपछि उहाँको परिवारमा पनि दशैँको रौनक हराएको हो । हरेक वर्ष दशैँमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उहाँ यस वर्ष श्रीमान्को अनुपस्थितिमा निकै निराशामा दशैँ बित्ने भएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए । त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए ।
उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन् । बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्न सकेका छैनन् ।
भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दशैँको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो ।
अरूका घरमा परिवारका सदस्यले एक अर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन् । दशैँको टीका लगाएर परिवारसँग खुशी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो ।
उनीहरूका घरमा पनि चाडपर्व त आएको छ । तर पनि मनमा खुशी भने फर्किन सकेको छैन । उनीहरूका लागि यस वर्षको दशैँ टीका र जमराको उत्सवभन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ ।