नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

दिल्लीबाट एक हप्ताअघि पक्राउ परेका सीजेपीका दुई नेता रिहा

भारतको दिल्लीमा एक हप्ता अघि भएको प्रदर्शनकाक्रममा पक्राउ परेका ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का दुई नेता रिहा हुनुभएको छ ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग्दै प्रदर्शन गरेका सीजेपी प्रमुख प्रवक्ता सौरभ दास र सहसंयोजक आशुतोष रांका हिजो जेलमुक्त हुनुभएको हो ।

उहाँहरुलाई दिल्लीको जन्तर मन्तरमा निषेधित प्रदर्शनस्थलमा प्रवेश गरेको आरोपमा प्रहरीले पक्राउ गरी जेलमा राखेको थियो । विशेष कार्यकारी मजिस्ट्रेटको अदालतले रिहाइको आदेश दिएपछि सौरभ र आशुतोष तिहाड जेलबाट छुट्नुभएको छ ।

उहाँहरुले आफूहरूले कुनै गलत काम नगरेको प्रतिक्रिया दिनुभएको बीबीसी हिन्दीले जनाएको छ । भारतको निर्वाचन आयोगले सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै सीजेपी समर्थकहरुले  मुख्य निर्वाचन आयुक्तको राजीनामा मागिरहेका छन् ।

तर, निर्वाचन आयोगले भने यो आरोप अस्वीकार गर्दै आएको छ । ‘कक्रोच जनता पार्टी’ सन् २०२६ को मे महिनामा इन्टरनेटमा शुरु भएको एउटा व्यङ्ग्यात्मक अभियानबाट विकसित भएको हो ।

भारतका प्रधानन्यायाधीशले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ अर्थात् साङ्लासँग तुलना गरेपछि यसको शुरुआत भएको थियो ।

प्रकाशित मिति:
थप विश्व