नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

काठमाण्डौ – चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।

वर्षौंदेखि बसोबास गर्दै आएको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता रहेकोमा अब सुरक्षित भविष्यको आश रहेको जग्गाधनी प्रमाणपुर्जा पाएकाहरुले बताएका छन् ।

रातो खोलभित्र राखिएको प्रमाणपुर्जामा आफ्नो नाम र तस्बिर देख्दा उनीहरू खुसी भएका छन् । वर्षौंदेखि बसोबास गर्दै आएको जमिनमा आफ्नो अधिकार स्थापित भएको अनुभूति बल्ल भएको  इच्छाकामना गाउँपालिका–७ का ७१ वर्षीय पूर्णबहादुर प्रजाले बताउनुभएको छ । उहाँले भन्नुभयो, “पुर्खाले नपाएको पुर्जा मैले पाएँ ।”

पूर्णबहादुर जस्तै २४ वर्षीया मनिला तामाङको अनुहारमा पनि आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएको चमक थियो । मङ्गलबहादुर चेपाङ र उहाँकी श्रीमती शान्तिमाया चेपाङले पनि आफ्नै तस्बिर टाँसिएको जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुभएको छ । २०१० सालमा जन्मनुभएका देवलाल गुरुङले पनि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुभएको छ ।

चितवन जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका झण्डै ४५ हजार निवेदन परेका छन् । ती निवेदनमाथि अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाइएको नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत एवं जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव श्रीधर ढुङ्गाना बताउनुहुन्छ ।

इच्छाकामना गाउँपालिका–७ का स्थानीयवासीन्दाले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका हुन् । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ गाउँपालिकाले लामो समयदेखि गरेको तयारीले अहिले मूर्त रूप लिन थालेको बताउनुहुन्छ । 

प्रकाशित मिति:
थप समाज