नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

काठमाण्डौ - अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा नेपालको तर्फबाट अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाउनुभएको थियो । उहाँका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि, प्रकृतिमा आधारित समाधानको प्रवर्द्धन तथा बाढी पहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरेको छ । यो परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत जलवायु उत्थानशीलता तथा पारिस्थितिक प्रणालीको संरक्षणमा जोड दिनेछ । अर्को परियोजना अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढी पहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ हो ।

यो परियोजनाको ३० करोड अमेरिकी डलर प्रस्तावित बजेटसहित पूर्व–अवधारणापत्र स्वीकृत भएको हो । त्यसैगरी बैठकले संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट)ले कार्यान्वयन गर्ने लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने परियोजनाको झण्डै ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको छ ।  

यसैबीच भोटेकोशी क्षेत्रमा विपद्पछिको व्यवस्थापन, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु अनुकूलन वित्त परिचालन गर्ने विषय आउँदो बोर्ड बैठकमा छलफल हुने भएको छ ।  

प्रकाशित मिति:
थप समाज