नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने

फ्रान्समा सम्भावित प्रदर्शन र झडपको अवस्थालाई नियन्त्रण गर्न देशभर झण्डै ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । यसअघि भएको प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर शहरी हिंसा भड्किएपछि फ्रान्सले थप सुरक्षा सतर्कता अपनाउने भएको हो ।

पेरिसमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लरेन्ट नुनेजले झण्डै ७० हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभएको छ । उहाँले हिंसा र लुटपाट गर्न उक्साउने सन्देशहरू सामाजिक सञ्जालमा फैलिरहेको भन्दै सम्भावित अशान्तिप्रति सचेत रहन पनि आग्रह गर्नुभयो । राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यकाल अन्त्यतिर पुगिरहेका बेला र नयाँ निर्वाचन हुन ६ महिना मात्र बाँकी रहेको अवस्थामा प्रदर्शन चर्किएको हो ।

हालैको एक सर्वेक्षणले अति दक्षिणपन्थी नेतृ मरिनले पेनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा अग्रस्थानमा देखाएको छ । यसअघि राष्ट्रपति म्याक्रोनले माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिसँग छलफल गर्नुभएको थियो । तर, विद्यार्थीका प्रतिनिधिहरूले सरकारले माग सम्बोधन गर्ने ठोस प्रस्ताव नल्याएसम्म आन्दोलन जारी राख्न आह्वान गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीले शुरु गरेको प्रदर्शन देशव्यापी बनेको छ । आन्दोलनमा बढ्दो महँगी र सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको हो ।  

प्रकाशित मिति:
थप विश्व