नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

पाकिस्तानमा खाना पकाउने ग्यासको अभाव, मूल्यमा उच्च वृद्धि

पाकिस्तानमा खाना पकाउने एलपीजी ग्यासको मूल्यमा उच्च वृद्धि भएपछि सर्वसाधारणको भान्सा प्रभावित बनेको छ ।

पाकिस्तान–इरान सीमानाका बन्द भई ग्यास आपूर्ति ठप्प भएपछि बजारमा एलपीजीको तीव्र अभाव सिर्जना भएको बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तानले आफ्नो कुल खपतको झण्डै आधा हिस्सा इरानबाट आयात गर्दै आएकोमा नाका अबरुद्ध हुँदा सयौँ ग्यास ट्याङ्कर सीमामै रोकिएका छन् । सरकारी निकाय ‘अयल एण्ड ग्यास रेगुलेटरी अथोरिटी’ ले प्रति किलो २ सय ७९ पाकिस्तानी रुपैयाँ मूल्य तोकेको भए पनि कालाे बजारीका कारण बजारमा ६ सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।

यसबाट ११ दशमलव ६७ किलोको एक सिलिन्डरको मूल्य ४ हजार ५ सय रुपैयाँबाट बढेर ७ हजार रुपैयाँ अर्थात नेपाली रुपैयाँ झण्डै तीन हजार ८ सय ५० पुगेको छ ।

देशका केही क्षेत्रमा भने एक सिलिन्डरको मूल्य ८ हजार रुपैयाँसम्म पुगेको छ । पाकिस्तानको फेडेरल ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार गएको हप्ताको तुलनामा ग्यासको मूल्य साढे २२ प्रतिशतले बढेको छ । गएको वर्षको तुलनामा यो वृद्धि एक सय ७ प्रतिशतभन्दा बढी हो ।

ग्यासको अभाव र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारण तथा साना होटेल व्यवसायी मारमा परेका छन् । अभावका कारण अन्य उपभोग्य वस्तुको मूल्यसमेत बढेपछि सर्वसाधारणमा आक्रोश फैलिएको छ ।   

प्रकाशित मिति:
थप विश्व