नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै

काठमाण्डौ – दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ ।

असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुकापछि सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार विजयादशमीको दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासँगै  समाप्त हुन्छ ।

असोज २५ गते कोत तथा दशैँ घर अनि घरघरमा घटस्थापना गरि राखिएको जमरालाई आज नजिकको पवित्र स्थल, नदी, तलाउ, पोखरीमा लगेर सेलाउने गरिन्छ । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिने समितिका अध्यक्ष पुरुषोत्तम भट्टराई बताउनुहुन्छ ।

नवरात्र विजयादशमी कै दिन सकिने भएपनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।

कात्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने भोलि सोमबारदेखि शुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । आकाश दीपदान पनि भोलि बेलुकादेखि नै शुरु गरिँदैछ । 

प्रकाशित मिति:
थप समाज