नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासकाे आग्रह

काठमाण्डाै – साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ ।

रियादमा रहेको नेपाली दूतावासले सूचना निकाल्दै नेपालीहरूलाई सुरक्षा अवस्थाप्रति सचेत रहन र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अपील गरेको हो ।

दूतावासले सुरक्षा निकाय तथा सम्बन्धित आधिकारिक निकायबाट जारी गरिएका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ । त्यस्तै सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक तथा अपुष्ट सूचना, तस्वीर र भिडियो पोस्ट वा शेयर नगर्न पनि सचेत गराएको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई भने उडान तालिकामा कुनै परिवर्तन भए/नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रामा निस्कन दूतावासले अनुरोध गरेको छ ।

आपत्कालीन अवस्था वा कुनै समस्या आइपरेमा रियादमा रहेको दूतावास तथा जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि आग्रह छ ।

साउदी अरबमा झन्डै ४ लाख नेपाली श्रमिक कार्यरत रहेका अनुमान छ । रोजगारीका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा नेपाली साउदी जाने गरेका छन् ।

पछिल्लो समय यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थल, तेल तथा अन्य महत्त्वपूर्ण संरचनाहरूमा आक्रमण गरिरहेका छन् ।

1-1793094018.jpg

प्रकाशित मिति:
थप देश परदेश विशेष