नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

काठमाण्डाै – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलगायत विवादित न्यायाधीशहरूमाथि यथाशीघ्र निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

संस्थाले आज विज्ञप्ति निकालेर केही न्यायाधीशहरूको बिचौलियाहरूसँग साँठगाँठ रहेको भन्ने विषयमा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निष्पक्ष छानबिनका लागि सरकारसँग माग गरेको हो ।

संस्थाका उपाध्यक्ष सरोजप्रसाद पाण्डेले निकाल्नुभएको विज्ञप्तिमा न्यायपालिकाको निष्पक्षतामा राजनीति, सरकार र बिचौलियाको प्रभाव रहेको भनी लामो समयदेखि प्रश्न उठिरहेको उल्लेख गरिएको छ ।

विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष वा बिचौलियाहरूसँग सम्पर्कमा आउनु न्यायाधीशहरूको नैतिकता र आचारसंहिताको गम्भीर उल्लङ्घन भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ठहर छ ।

आक्षेप लागेका व्यक्तिहरूको सार्वजनिक स्पष्टीकरणले मात्र उठेका प्रश्नहरूको समाधान दिन नसक्ने भन्दै संस्थाले समाचारमा इङ्गित गरिएका न्यायाधीशहरूले उठेका प्रश्नहरूको समाधान नभएसम्म न्याय सम्पादन कार्यमा संलग्न नहुन आग्रह गरेको छ ।

साथै यस विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै ढिला नगरी संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी आवश्यक निर्णय गर्न र सम्बन्धित न्यायाधीशहरूको सम्पत्ति छानबिनलाई पनि अनुसन्धानको दायरामा ल्याउन संस्थाले माग गरेको छ ।

1-1793618924.JPG

प्रकाशित मिति:
थप समाज