नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे अझै अन्योल

काठमाण्डौ – मधेश प्रदेशमा नयाँ सरकार गठनको अन्योल कायमै छ ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकार गठनका लागि दाबी पेस गर्न भोलि शुक्रवारसम्मको समय दिनुभएको छ । एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार बाहिरिएसँगै अर्को सरकार गठनका लागि भोलिसम्मको समय तय भएको हो ।

प्रदेश प्रमुख कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवले गएको शनिवार दिएको राजीनामा स्वीकृत गर्दै भोलि शुक्रवारसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

नयाँ सरकार गठनको तयारीमा रहेका जसपा नेपाल, एमाले, नेकपा र जनमतबीच अझै सहमति जुट्न सकेको छैन । तर आज अबेरसम्म सरकार गठनबारे सहमति जुट्ने र भोलि नै सरकारका लागि दाबी प्रस्तुत गरिने नेताहरुको भनाइ छ ।

जसपा नेपाललाई सरकारको नेतृत्व दिन एमाले र नेकपा तयार छन् । तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने एमाले, कांग्रेस र नेकपाकै कारण मधेश प्रदेशमा लगालग सरकार फेरिने र संघीयताप्रति नै नकारात्मक सन्देश गएको भन्दै चुनावको मुखमा प्रदेश सरकारको नेतृत्व सम्हाल्न नहुने अडानमा हुनुहुन्छ ।

जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव भने सरकारको नेतृत्व लिनुपर्ने पक्षमा हुनुहुन्छ । मधेश प्रदेशसभामा एमाले यसअघि २४ सांसदसहित ठूलो दल रहे पनि जसपा नेपाल र लोसपाको एकीकरणपछि २८ सांसदसहित जसपा नेपाल ठूलो दल बनेको छ ।

कांग्रेससँग २२, नेकपाका १५, जनमत पार्टीका १२ तथा नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका एक–एक जना सांसद छन् । 

प्रकाशित मिति:
थप राजनीति