नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका बारेमा तपाईँले थाहा पाउनै पर्ने कुरा

विश्वकप फुटबल सुरु हुँदै गर्दा विश्वभरका फुटबल प्रशंसक ब्राजिल, अर्जेन्टिना, जर्मनी तथा पोर्चुगलको गुणगान गाइरहेका थिए ।

नगाउन् पनि किन यी सबै टिम स्टार खेलाडीले भरिपूर्ण छन् । तर जबजब विश्वकप सुरु भयो, अप्रत्याशित नतिजा आउन थाले । ठूला भनिएका टिम कोही समूह चरणबाटै बाहिरिए त कोही प्रिक्वार्टरफाइनलबाट । 

चाहे जति पटकको नै विजेता होस्, चर्चा इतिहास रच्नेकै हुन्छ । विश्वकपको दोस्रो सेमिफाइलनमा त्यस्तै इतिहास रच्यो क्रोएसियाले । इंग्ल्याण्डलाई दुई–एकले हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुग्दै एउटा इतिहास रच्न सफल भयो । ५२ वर्षपछि विश्वकपको ट्रफी उचाल्ने इंग्ल्याण्डको सपना टुंगिएको छ । अर्कोतिर इंग्ल्याण्डसँग उत्कृष्ट खेल खेलेको क्रोएसियाले फाइनलमा फ्रान्सलाई हराएमा अर्को इतिहास रच्नेछ । 

विश्वकपमा प्रायः सञ्चार माध्यममा ठूला भनिएका टोलीकै चर्चा हुन्छ । इंग्ल्याण्डका बारेमा त धेरैलाई जानकारी हुन सक्छ । तर क्रोएसियाका बारेमा कमैलाई मात्र थाहा हुन सक्छ । त्यसले हामीले क्रोएसियाका विविध पक्षबारे जानकारी दिने प्रयास गरेका छौँ 

झण्डै ४० लाख जनसंख्या भएको क्रोएसियालीहरु विश्वकपमा जुन सफलता हासिल गरिरहेका छन्, पत्याउनै सकिरहेका छैनन् । किनकी ग्रुप अफ् डेथ भनिएको टिमबाट फाइनलसम्मको यात्रामा आइपुग्नु क्रोएसियाको लागि ऐतिहासिक सफलता हो । सन् १९९८ को विश्वकपमा क्वार्टरफाइलमा जर्मनीलाई ३–० ले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । सेमिफाइलनमा फ्रान्ससँग २–१ ले पराजित क्रोएसिया नेदरल्याण्ड्सलाई हराउँदै तेस्रो भएको थियो ।

क्रोएसियाकै खेलाडी डेभाेर सुकरले प्रतियोगितामा सबभन्दा बढी गोल गर्दै गोल्डेन बुट पाएका थिए । उनले प्रतियोगितामा ६ गोल गरेका थिए । गाब्रियल बाटिस्टुटा, रोनाल्डो(ब्राजिल), रिभाल्डो, थियरी हेनरी, जिनेदिन जिदानजस्ता खेलाडीहरुभन्दा उनी अगाडि आएका थिए । तर यो सफलता कसरी प्राप्त भयो भन्ने बारेमा क्रोएसिया आफैले पनि खासै केही भन्न सक्दैन । 

द सन का अनुसार फुटबलका विज्ञ भन्छन् कि यो सफलताका पछाडि पूर्ववर्ती युगोस्लाभियाको एकेडेमी सिस्टमको हात थियो । युगोस्लाभियाले सन् १९८७ मा सम्पन्न भएको वर्ल्ड यू–२० च्याम्पियन्सिप जितेर विश्वलाई चकित बनाएको थियो । तर स्वतन्त्र देशको हैसियतमा पहिलो खेल्न उसलाई सात वर्ष पर्खनुपर्यो ।

चिली, ब्राजिल, पश्चिम जर्मनी जस्ता बलिया टिमलाई हराएपछि युगोस्लाभियालाई सबैभन्दा शानदार टिमका रुपमा हेरिएको थियो । तर त्यहाँको राजनैतिक माहोलले फुटबल मात्रै होइन, सम्पूर्ण सामाजिक अर्थव्यवस्था नै ध्वस्त बनायो । 

चार वर्षपछि सन् १९९१ मा बाल्कन युद्धले गर्दा सम्पूर्ण आशामा तुषारापात भयो । तर सात वर्षपछि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसियाले रातो र सेतो चेक जर्सी लगाएर विश्वलाई आफ्नो क्षमता प्रदर्शन गर्यो । 

यही सफलता नै क्रोएसियाली नागरिकका लागि युद्धका पीडा बिर्सेर अगाडि बढ्न प्रेरणाको श्रोत बन्यो । डाइनामो जाग्रेब एकेडेमीको यसकारण चर्चा हुने गर्छ कि लुका मोड्रिच, डेजान लोबरन, सिमे विरास्लाजको, मारियो मान्दुकिच तथा मातेओ कोवासिच जस्ता खेलाडी यहीँका उत्पादन हुन् । तर फुटबलमा यत्रो सफलता प्राप्त गरेको क्रोएसियाको संघर्ष पनि त्यस्तै छ । 

फुटबलमा क्रोएसियाको सफलताका बारेमा थाहा भए पनि उसको राजनीतिक इतिहासका बारेमा जान्ने धेरैलाई उत्सुकता हुन सक्छ । क्रोएसिया मध्य तथा दक्षिण–पूर्व युरोपमा एड्रियाटिक सागर नजिकै पर्दछ । 

क्रोएसियाको राजधानी जाग्रेब हो । ५६ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको क्रोएसियामा रोमन क्याथोलिक धर्म मान्नेहरु बढी छन् । 

छैटौं शताब्दीदेखि मानिसहरु क्रोएसियामा आएर बस्न थालेका थिए । यहाँका पहिलो राजा टोमिस्लाभ थिए । सन् ११०२ मा हंगेरीसँग मिसिएको क्रोएसियाले सन् १५२७ मा आटोमन साम्राज्यको विस्तारको प्रभावका बीच फर्डिनान्ड अफ् ह्याब्सवर्गलाई आफ्नो राजा मान्न थाल्यो । 

१९औँ शताब्दीको सुरुवातदेखि क्रोएसियाको विभाजन सुरु हुन थालेको थियो । अष्ट्रिया–हंगेरीले बोस्निया हर्जगोभिनामाथि कब्जा गर्यो । यो विवाद सन् १८७८ मा भएको बर्लिन सन्धिमार्फत सुल्झाइएको थियो । 

नाजीहरुको कब्जा

सन् १९१८ मा क्रोएसियाली संसद(सबोर) ले स्वतन्त्रताका घोषणा गर्दै ‘स्टेट अफ् स्लोभेन्स, क्रोएट्स एण्ड सर्ब’सँग जोडिने निर्णय गर्यो । 

अप्रिल १९४१ मा नाजी जर्मनीको अगुवाईमा ध्रवीय शक्तिहरुले युगोस्लाभियामाथि कब्जा गरेपछि क्रोएसियाका अधिकांश भूभाग नाजी समर्थित क्लाइन्ट स्टेटमा गाभिन पुग्यो । त्यसको व्यापक विरोध भएपछि फेडेरल स्टेट अफ् क्रोएसिया बन्न पुग्यो । त्यसपछि क्रोएसिया सोसलिस्ट फेडेरल रिपब्लिक अफ् युगोस्लाभियाको संस्थापक सदस्य तथा संघीय घटक बन्यो । 

सन् १९१८ देखि सन् १९९१ सम्म क्रोएसिया युगोस्लाभियाकै हिस्साका रुपमा रह्यो । सन् १९९१ को स्लोभानियाको युद्धपछि क्रोएसियामा पनि त्यसको असर देखिन थाल्यो । 

कठिन संघर्ष

बढ्दै गएको राजनीतिक तनावका बीच क्रोएसियाले सन् १९९१, जुन २५ मा स्वतन्त्रताको घोषणा गर्यो । यसैबीच क्रोएसियाको राजनैतिक वातावरण बिग्रँदै गएको थियो । युगोस्लाभ पब्लिक आर्मी तथा सर्ब प्यारामिलिट्रीको समूहले क्रोएसियामाथि आक्रमण गर्यो । सन् १९९१ को अंतमा यस्तो अवस्था आयो कि क्रोएसियासँग आफ्नो भूभागको एक तिहाई भाग मात्रै बचेको थियो ।

क्रोएसियाका मूल नागरिकमाथि आक्रमण गरियो । लाखौँ मानिस मारिए तथा लाखौँ विस्थापित भए । सन् १९९२ मा क्रोएसियालाई युरोपेली इकोनोमिक कम्युनिटीमा मान्यता प्राप्त भयो । उसलाई संयुक्त राष्ट संघले पनि मान्यता दियो । सन् १९९५ मा युद्धको अन्त्य भयो । अन्त्यमा क्रोएसियाको जित भयो ।

पुनर्जागरण काल

कब्जा भएका आफ्ना भूभाग सन् १९९५ मा भएको एउटा सम्झौतापछि क्रोएसियाले प्राप्त गर्यो । तर युद्धले जर्जर भएको क्रोएसियाली अर्थतन्त्र तथा सामाजिक अर्थव्यवस्था उठ्नलाई धेरै समय लाग्यो । सन् २००० पछि क्रोएसियाको लोकतन्त्र केही बलियो हुँदै गयो । आर्थिक विकास तथा ढाँचागत सामाजिक सुधारका कार्यक्रमले बेरोजगारी, भ्रष्टाचार तथा प्रशासनिक अराजकतामा सुधार देखियो । तर क्रोएसियाले लामो समयपछि युरोपियन युनियन, संयुक्त राष्ट्र संघ, युरोपेली परिषद, नाटो तथा डब्ल्यूटीओको सदस्यता प्राप्त गर्यो । 

क्रोएसियाको मुख्य अर्थव्यवस्था सेवा, उद्योग तथा कृषिमा आधारित छ । पर्यटनबाट पनि क्रोएसियाले मनग्य आम्दानी गरिरहेको छ । विश्वका शीर्ष २० पर्यटकीय स्थलमा क्रोएसिया पनि पर्दछ । 

विकास तथा संघर्षका बीच क्रोएसियाले भोगेका पुराना पीडालाई फुटबलमा पाएको सफलताले मल्हम लगाउने काम गरेको छ ।  अब जुलाई १५ मा हुने विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्सलाई हराएर सम्पूर्ण देशबासीमा फेरि एकपल्ट खुशीको माहोल छर्न चाहन्छ ।

-बीबीसीकाे सहयाेगमा
 
 

प्रकाशित मिति: