जिएस लामिछाने

प्रश्नः वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृति दिइन्छ, जम्मा २ वर्षको । तर बीमा चाहिँ ३ वर्षको अनिवार्य गर्न लगाइन्छ । ३ वर्ष गरिएको बीमा २ वर्षको श्रमस्वीकृति सँगै सकिन्छ । अथवा २ वर्ष समय कटेसी ३ वर्ष नपुग्दै केही भएको खण्डमा इन्स्योरेन्स जवाफदेही हुँदैन । यस्तो किन ? बीमा सँगै श्रमस्वीकृति पनि ३ वर्षको नै पाउनु पर्ने होइन र ?


 

उत्तरः जिएस जी साउदी अरब, युएई, कतार, कुवेत, ओमान, बहराइन जस्ता खाडीका देशमा २ वर्षका लागि श्रमस्वीकृति दिइन्छ । त्यस्तै मलेसियामा रोजगारीका लागि जाने कामदारलाई ३ वर्षको श्रम स्वीकृति दिने चलन छ । श्रम स्वीकृति सकिएपछि त्यही कम्पनी र देशमा रोजगारी गर्न जान पुनः स्वीकृति लिनुपर्छ । बीमाको हकमा २ वर्षका लागि गइने देशमा ३ वर्ष अवधि मान्य हुने गरी ३ वर्ष श्रमस्वीकृति दिइने देशमा ४ वर्ष मान्य हुने गरी बीमाको प्रिमियम दिने गरिएको छ । यसअघि भने श्रमस्वीकृतिको अवधि भन्दा ६ महिना धेरै समयको प्रिमियम दिने गरिएको थियो । सरकारले गरेको निर्णय तपाईं हामीले पालना गर्नैपर्छ । तर यसले कामदारलाई नै फाइदा पुर्याउँछ । कामदारलाई समस्या परेकाले श्रमस्वीकृति दिएको अवधि भन्दा १ वर्ष बढी बीमाको प्रिमियम लिने गरिएको हो । अन्ततः यो कामदारका हितमा छ । कामदारले पहिले भन्दा २–३ सय रुपैयाँ बढी प्रिमियम वापत तिर्नुपर्छ । २ वा ३ वर्षका लागि यो प्रिमियम रकम धेरै पनि होइन । दशा बाजा बजाएर आउँदैन । भवितव्यमा परी समस्या परिहाले आफैंलाई फाइदा हुन्छ । बीमा अवधिभर तलमाथि भए बीमा कम्पनीले जिम्मा लिँदैनन् भन्ने कुरा सत्य होइन ।