डा शेखर कोइराला

प्रतिनिधिसभा सदस्य
मोरङ-६

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७२
प्राप्त मत
३५२२४
लिङ्ग
पुरुष
हालको पद
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
शैक्षिक योग्यता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको हो । उहाँ केशव कोइराला र कांग्रेसकी एक समयकी चर्चित नेता नोना कोइरालाका छोरा हुनुहुन्छ ।
कोइराला परिवार राजनीतिक परिवार भएकोले शेखर कोइरालाले सुरुदेखि नै नेपाली कांग्रेसबाट राजनीति गर्नुभयो । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुभएको हो ।
वीर अस्पताल, कोशी अञ्चल अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर पदाधिकारीका रुपमा काम गर्दा कोइरालाले आफूलाई नेपाली कांग्रेसबाट कहिल्यै अलग राख्नुभएन । विराटनगरमा काम गर्दा उहाँले तत्कालीन अञ्चलाधीश र प्रहरी अधिकृतहरुसँग टक्कर लिँदै नेपाली कांग्रेस र प्रजातन्त्रका लागि काम गर्नुभयो ।


वीपी कोइराला भारत निर्वासनबाट फर्किँदा शेखर कोइराला पक्राउ परी तीन महिना जेल बस्नुभयो । त्यतिबेला कोइराला वीर अस्पतालमा डाक्टर हुनुहुन्थ्यो । एमडी गर्न दिल्ली गएका कोइराला जनमत संग्रहका बेला पढाइ छोडेर बहुदलको पक्षमा प्रचार गर्न नेपाल आउनुभयो । वीपीलाई घरभित्र नजरबन्द गरेर राखिएको बेला कोइरालाले तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देसाइको पत्र लिएर आउनुभएको थियो ।
पेशाले फिजिसियन कोइरालाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्ष र उपकुलपति भएर काम गर्नुभयो । पेन्सन निस्कन एक वर्ष मात्रै बाँकी छँदा उहाँ डाक्टरी छोडेर पार्टीको पूर्णकालीन राजनीतिमा होमिनुभयो ।
दिल्लीमा डाक्टर पढ्दा डाक्टर बाबुराम भट्टराईसँग चिनजान भएका कोइरालाले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नुभयो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले जिम्मेवारी दिएपछि उहाँले माओवादीसँग सम्वाद अघि बढाउनुभएको थियो । कृष्णप्रसाद सिटौलासँग मिलेर शान्ति प्रक्रियाका लागि काम गर्दा उहाँले नेपाली कांग्रेस भित्रैबाट चर्को आलोचना समेत भएको थियो ।


२०६४ सालको संविधानसभा चुनावमा मोरङ क्षेत्र नम्बर ६ बाट तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका उम्मेद्वार विजयकुमार गच्छदारसँग उहाँ पराजित हुनुभएको थियो । गच्छदारले त्यो क्षेत्र छोडेपछि भएको उपचुनावमा कोइराला १२ हजार ७१ मत प्राप्त गरी विजयी हुनुभयो । २०७० सालको चुनावमा पनि उहाँ यही क्षेत्रमा विजयी हुनु भएको थियो । 
२०७४ को चुनावमा एमालेका लालबाबु पण्डितसँग पराजित हुनु भएका उहाँको यस पटक फेरि पण्डितसँग नै प्रतिस्पर्धा हुँदैछ । 


२०७४ सालमा चुनाव हारेपछि उहाँले राजनीतिक सक्रियता बढाउनु भयो । र, आफूलाई कांग्रेसको भावी नेताका रूपमा अघि सारेर देश दौडाहामा लाग्नुभयो । जुन कुरा कांग्रेसको २०७८ सालमा भएको १४ औँ महाधिवेशनमा पनि देखियो । १४ औँ महाधिवेशनमा उहाँले कांग्रेस सभापति पदमा शेरबहादुर देउवालाई बलियो चुनौती दिँदै ४० प्रतिशत मत पाउनुभएको थियो ।