विजय कुमार गच्‍छदार

प्रतिनिधिसभा सदस्य
सुनसरी-३

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६८
प्राप्त मत
३५६००
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
इतिहासमा स्नातकोत्तर

विजयकुमार गच्छदार सातौँ पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसबाट २०४८, ०५१ र ०५६ गरी तीनपटक सुनसरी ३ बाट सांसद भएका गच्छदार ०६४ मा मधेसी जनअधिकार फोरमबाट यो क्षेत्रसहित मोरङबाट समेत विजयी हुनु भएको थियो । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उहाँले फोरम लोकतान्त्रिकबाट सुनसरी ३ मै चुनाव जित्नुभयो । २०७४ सालको संसदीय चुनावमा यही क्षेत्रमा नेपाली कांग्रेसबाट विजयी हुनुभयो ।
गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी ८ पचरामा भएको हो । बुबा शिरु गच्छदार र आमा खुतलीदेवी थारुबाट जन्मेका गच्छदारका १ छोरी २ छोरा छन् । इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गर्नु भएको हो ।
२०६४ सालको संविधानसभा चुनावमा गच्छदारले चाहेका केही मान्छेलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिन नमानेपछि उहाँ मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । फोरमकातर्फबाट सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित गच्छदारले पछि पार्टी फुटाएर फोरम लोकतान्त्रिक गठन गर्नुभयो र त्यसको अध्यक्ष हुनुभयो । पछि फेरि कांग्रेसमै फर्कनुभयो ।
कांग्रेसको पूर्व उपसभापतिसमेत रहेका उहाँ १४ औँ महाधिवेशनमा भने धनराज गुरुङसँग २ मतको झिनो अन्तरले उपसभापति पदमा पराजित हुनुभयो । झण्डै १० वर्ष पछि नेपाली कांग्रेसमै फर्किएका गच्छदार पटक पटक मन्त्री तथा उप–प्रधानमन्त्री हुनुभयो । अहिले उहाँ पुरानै क्षेत्र सुनसरी ३ बाट उम्मेदवार बन्नुभएको छ ।
२०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक उपप्रधानमन्त्री बन्नुभएको छ । २०४८ सालमा सञ्चार राज्यमन्त्री, ०५२ निर्माण तथा यातायात मन्त्री, ०५४ निर्माण तथा यातायात मन्त्री, ०५५ निर्माण तथा यातायात मन्त्री, ०५६ पर्यटन तथा नागरिक उड्ययन मन्त्री, ०५६ जलस्रोत मन्त्री, ०५८ जलस्रोत मन्त्री, ०६५ भौतिक योजना तथा निर्माण मन्त्री, ०६६ उपप्रधान तथा भौतीक योजना तथा निर्माण मन्त्री, ०६८ उपप्रधान तथा गृहमन्त्री, ०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, ०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्नुभएको थियो ।