Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ४८८ औँ अंक

रेडियो कार्यक्रम देशपरदेशको ४८८ औँ अंक श्रमिकको हितमा काम गर्ने क्षेत्रीय मञ्च ‘आबुधाबी डाइलग’को विषयमा केन्द्रित छ । श्रमिक पठाउने ११ देश र श्रमिकलाई काम दिने ७ देशका बीच श्रम सम्बन्धका विविध आयाममा कुरा गर्ने क्षेत्रीय मञ्च हो आबुधाबी डाइलग । यस कार्यक्रममा गएको हप्ता सम्पन्न आबुधाबी डाइलगमा नेपालको सहभागिता, नेपालले उठाएका मुद्दा र नेपाली श्रमिकको हीत र सुरक्षामा आबुधावी डायलगको महत्वका विषयहरु समेटिएको सामग्री सुन्न सकिन्छ । यस्तै आबुधाबी डाइलग र क्षेत्रीय फोरममा नेपालको उपस्थिति कसरी बलियो बनाउने र ती फोरममा श्रमिकका के कस्ता मुद्दाहरु उठाउने भन्ने विषयमा इक्युडेम रिसर्चका दक्षिण एसिया निर्देशक तथा श्रम आप्रवासन विज्ञ रामेश्वर नेपालका विचार पनि कार्यक्रममा समेटेका छौँ । साथै विदेशमा काम गर्ने श्रमिकको हक, हित र सुरक्षामा काम गर्ने आबुधाबी डाइलगसहित नेपाल सहभागी हुने अरु क्षेत्रीय तथा अन्र्तराष्ट्रिय फोरमहरुबारे जानकारी पनि कार्यक्रममा सुन्न सकिन्छ ।